सुनको भाउ ३ दिनमा १६ सय रुपैयाँ बढ्यो, आजको मूल्य कति ?
काठमाडौं । सुनको भाउ लगातार ३ दिन बढेको छ । यो ३ दिनमा सुनको भाउ १६ सय रुपैयाँले बढ्न पुगेको छ । जसमा, आइतबार र सोमबार सुनको भाउ क्रमशः ३०० र १ हजार रुपैयाँले बढेको थियो । त्यसैगरी, सुनको भाउ आज पनि ३०० रुपैयाँले बढेको छ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको थियो । यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ८६१.९२ र चाँदी प्रतिऔंस २१.७६ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ ।
केही दिन यता इजरायल र प्यालेस्टिनी आतंकवादी समूह हमासबीचको युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा बढोत्तरी भएको छ । युद्धका कारण भू–राजनीतिक तनाव उत्पन्न हुने देखिएपछि सुरक्षित लगानीको रुपमा सुनको माग बढेको छ । विश्व बजारमा सुनको मूल्य घट्दा वा बढ्दा त्यसको सीधा प्रभाव नेपालमा पनि पर्ने गरेको छ ।
Visited 2 times, 1 visit(s) today


