उचित वातावरण भएकाले साउदीलाई नेपालमा लगानी गर्न आग्रह |
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालमा लगानीको उचित अवसर भएको बताउँदै यहाँ पूर्वाधार तथा औद्योगिक क्षेत्रमा लगानी गर्न साउदी अरेबियालाई आग्रह गरेका छन् । उनले शिष्टाचार भेटका लागि आएका साउदी अरेबियाका राजदूत मुसैदविन सुलेइमन आइ मारवानलाई त्यस्तो आग्रह गरेका हुन् ।
सो अवसरमा अर्थमन्त्री खतिवडाले नेपालको सिँचाइ, ऊर्जा, भौतिक संरचना विकासका लागि साउदी कोषले सहयोग गरेकोमा साउदी सरकारलाई धन्यवादसमेत दिएका छन् ।
करीब ४ लाख नेपाली कामदार साउदी अरेबियामा कार्यरत रहेको बताउँदै मन्त्री डा. खतिवडाले साउदी सरकारले नेपालीलाई रोजगारी दिएर नेपालको अर्थतन्त्रमा समेत सहयोग गरेको उल्लेख गरे । राउदीले नेपाल युवायुवतीलाई रोजगारी दिएर केही हदसम्म नेपालको गरिबी न्यूनीकरण, शिक्षा, स्वास्थ्य र जनजीवनको सुधारमा महत्वपूर्ण योगदान पुगेको उनले बताए ।
मन्त्री डा. खतिवडाले आगामी चैत १५ र १६ गते नेपालमा हुन लागेको लगानी सम्मेलनमा साउदी अरेबियाका लगानीकर्तालाई बढीभन्दा बढी सहभागी गराउन दूतावासमार्फत सन्देश प्रवाह गर्न आग्रह पनि आग्रह गरे ।
भेटका अवसरमा नेपालमा गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल छिट्टै सञ्चालनमा आउन लागेकाले साउदी नागरिकलाई पर्यटकको रूपमा नेपाल भित्र्याउने र नेपाली कामदारलाई सिधै आवतजावत गर्न सहज हुने उल्लेख गरे ।
साउदी अरेबियाका राजदूतले साउदी फण्डमार्फत नेपालमा भूकम्पपछिको पुनःनिर्माण, शिक्षा, स्वास्थ्य र निजी आवास निर्माणमा सहयोग गर्न विभिन्न चरणका छलफल र वार्ता अघि बढेको बताए । नेपालमा लगानी र सहयोग गर्न साउदी अरेबिया तयार रहेको बताउँदे उनले दुवै देशबीच उच्चस्तरीय भ्रमण गरी सम्बन्धलाई थप उचाइमा पु¥याउने विश्वास व्यक्त गरे ।



