हुण्डीको कारोबार गर्ने आठ जनाविरुद्ध ४ अर्ब १६ करोडको मुद्दा दायर |
काठमाडौं । हुण्डीको कारोबार गर्ने ८ जनाविरुद्ध ४ अर्ब १६ करोड बिगो दाबी गर्दै जिल्ला अदालत, धनुषामा मुद्दा दायर गरिएको छ । राजस्व अनुसन्धान कार्यालय पथलैयाले हुण्डीको कारोबार गरेको पुष्टि भएपछि उनीहरूविरुद्ध मुद्दा दायर गरेको बताएको हो ।
कार्यालयले रामेश्वर पूर्वे भनिने रामेश्वर शाह, उनकी श्रीमती मिनादेवी शाह, विजय यादव, मोख्तर अहमद, सन्तोष महतो, नरेश महतो, सुरज ठाकुर र पप्पुकमार दासविरुद्ध मुद्दा दर्ता गरेको जानकारी दिएको छ ।
उनीहरूले आपसी मिलेमतोमा ह्वाट्स एप एप्लिकेशनको माध्यमबाट हुण्डी कारोबार गरेको पुष्टि भएको राजस्व कार्यालयको दाबी छ । ‘एप्लिकेशनको माध्यमबाट परस्पर हुण्डी कारोबारका विवरणहरू सांकेतिक शब्द र चिन्ह प्रयोग गरी आफ्ना गुटमेलका कारोबारीसँग आदानप्रदान गरेर विदेशी मुद्रा र नेपाली रुपैयाँ ठूलो परिमाणमा अवैध रूपमा अन्तरदेशीय कारोबार गरेको प्रमाणित भएको छ’, कार्यालय दाबी गर्दै बताएको छ ।
अदालतमा दायर गरिएको उक्त मुद्दामा प्रतिवादीमध्ये ७ जनालाई बिगोसहित ३ वर्षसम्म कैदको माग गरिएको छ भने पप्पुकुमार दास १५ वर्षका नाबालक भएकाले आधा सजाय मात्र माग गरिएको राजस्व कार्यालयले बताएको छ ।
Visited 1 times, 1 visit(s) today


