रू. २ अर्ब ४६ करोड मुद्दती निक्षेपमा राख्दै राष्ट्र बैंक |
काठमाडौं । नेपाल राष्ट्र बैंकले झण्डै अढाइ अर्ब रुपैयाँ एक वर्षका लागि मुद्दती निक्षेपमा राख्ने भएको छ । राष्ट्र बैंकले आगामी फागुन १ देखि २०७६ माघ २९ गतेसम्मका लागि रू. २ अर्ब ४६ करोड ८७ लाख बैंक तथा वित्तीय संस्थाहरूमा मुद्दती निक्षेपमा राख्ने भएको हो ।
केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकमा रू. २ अर्ब ६ करोड ८७ लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा रू. ३० करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा रू. १० करोडबराबरको निक्षेप मुद्दतीमा राख्न लागेको जानकारी दिएको छ ।
सञ्चालनमा आएको २ वर्ष पूरा भएको, न्यूनतम पूँजी कोष कायम भएको, निष्क्रिय कर्जा कूल कर्जा सापटीको पाँच प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको, कर्जा निक्षेप र पूँजी अनुपात बैंकले निर्धारण गरेको सीमाभित्र रहेको र अघिल्लो आवमा मुनाफा हासिल गरेका बैंक तथा वित्तीय संस्थाले उक्त निक्षेप रकमका लागि आवेदन गर्न सक्ने राष्ट्र बैंकले बताएको छ ।
त्यस्तै, रियल स्टेट कर्जा बैंकको तोकिएको सीमाभन्दा बढी नभएको बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत, सञ्चालक वा कार्यकारी सञ्चालकलाई कुनै पनि कारबाही नभएको, समस्याग्रस्त घोषणा नभएको र सर्वसाधारणका लागि छुट्याइएको शेयर विक्री भएको हुनुपर्ने शर्त पनि राष्ट्र बैंकले राखेको छ ।
तोकिएका मापदण्ड पूरा गरेका बैंक तथा वित्तीय संस्थाले यही माघ २३ गतेसम्ममा उक्त निक्षेप लिनका लागि आवेदन दिन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ ।
Visited 1 times, 1 visit(s) today


