६ करोडको लगानीमा माछाको दाना उद्योग सञ्चालनमा |
काठमाडौं । खाने तेल र पशुपंक्षीको आहारा उत्पादन गर्दै आएको निम्बस समूहले अब माछाको दाना पनि उत्पादन गर्न शुरू गरेको छ । कम्पनीले ६ करोड रुपैयाँको लगानी गरेर माछाको दाना उद्योग सञ्चालन गरी पानीमा तैरिने दाना (फ्लटिङ फिस फिड) उत्पादन शुरू गरेको हो ।
रेन्बो ट्राउट माछापालन व्यवसायलाई लक्षित गर्दै उत्पादन शुरू गरिएको समूहका कार्यकारी निर्देशक दिनेश गौतमले जानकारी दिए । उनका अनुसार हालसम्म फ्लटिङ फिस फिडका लागि भारतीय बजारमा निर्भर रहँदै आउनुपरेकोमा अब आयात प्रतिस्थापनमा पनि यस उद्योगले ठूलो योगदान पुर्याउनेछ ।
यस्तो दाना रेन्बो ट्राउट, कार्भ र पंगास जातको माछाका लागि उपयोगी हुने कम्पनीको दाबी रहेको छ । अन्य जातको व्यावसायिक माछापालनका लागि समेत उपयोगी यो दानामा प्रोटिन र कार्बोहाइड्रेटको मात्रा बढी हुन्छ ।
यसअघि नेपालमा श्रीनगर एग्रो समूहको हिमालयन एक्वा एग्रिटेक प्रालिसहित दुईवटा उद्योगले मात्र ‘फ्लटिङ फिस फिड’ को उत्पादन गर्दै आएका थिए । उनले फागुनदेखि माछापालनको सिजन शुरू भएसँगै माछाको दाना बजारमा लैजाने तयारीमा आफ्नो उद्योग रहेको जानकारी दिए ।
तैरिने दानाको प्रयोगबाट पानीमा दाना भिजेर पोषकतत्व नष्ट नहुने र डुबेर माटोमा नमिसिने भएकाले खेर पनि नजाने भएकाले यो दाना अत्यन्त उपयोगी र किफायती हुने कम्पनीको दाबी छ । गुणस्तरस्तरको आधारमा यस्तो दाना पोखरीमा छरेको २ देखि १२ घण्टासम्म पानीमा तैरिरहन सक्छ । पानीमा भिजेर डुब्ने दानाको तुलनामा तैरिने दाना १० देखि २५ प्रतिशतसम्म किफायती मानिन्छ ।
व्यवसायीका अनुसार माछाको दाना मात्र वार्षिक २० करोड रुपैयाँ मूल्यबराबरको विदेशबाट आयात हुँदै आएको छ ।



