वाइड बडीले जापान उडानको अनुमति पायो | फागुन १५ गतेसम्ममा जापानमा र चैतमा चीनमा उडान गर्दै, दुवै देशका गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसक्यो
काठमाडाँं । नेपाल वायु सेवा निगमको नयाँ ए ३३० वाइड बडी जहाजले जापान उडानका लागि अनुमति पाएको छ । नेपालको कानूनअनुसार नयाँ अन्तरराष्ट्रिय गन्तव्यमा उडान सञ्चालनका लागि स्वदेशको नियामक निकायबाट पनि अनुमति लिनुपर्ने रहेको छ । त्यही व्यवस्थाअनुसार क्यानले निगमलाई एओसी दिएको हो ।
निगमलाई नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले उक्त नयाँ विमान सञ्चालनको अनुमति पत्र (एओसी) हिजो शुक्रवार प्रदान गरेको हो ।
निगमका सहायक प्रवक्ता नवराज कोइरालाले निगमको वाइड बडी जहाजले जापानको काठमाडौं–ओसाका उडानका लागि एओसी पाएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिएका हुन् । निगमले ७८ महिनापहिले खरिद गरेका दुई वाइड बडी जहाजले क्यानबाट अनुमति पाउन बाँकी रहेका कारण पुरानै गन्तव्यमा मात्र उडान गर्दै आइरहेको थियो । अब वाइड बडी जहाजले यो अनुमति पाएसँगै जापानसहित अन्य मुलुकका गन्तव्यमा उडान गर्ने निगमले बताएको छ ।
सहायक प्रवक्ता कोइरालाले भने, ‘अब जापानमा उडान अनुमतिका लागि प्रक्रिया अघि बढाउन बाटो खुला भएको छ । जापानको ओसाका विमानस्थलमा उडान सञ्चालनका लागि निमगले कर्मचारीसमेत खटाइसकेको छ ।’
अब निगमले जापानको नियामक निकायसँग मात्र उडान अनुमतिका लागि कागजात पेश गर्न बाँकी रहेको निगमको भनाइ छ । छिट्टै नै जापानको नियामक निकायमा अनुमतिका लागि कानजात पेश गरिने निगमले जानकारी दिएको छ ।
निगमले आगामी फागुन १५ गतेसम्ममा नेपाल–जापान उडान शुरू गर्ने तयारी गरेको छ । निगमले आगामी चैत १५ गतेसम्ममा चीनमा पनि उडान सञ्चालन गर्ने तयारी अघि बढाइसकेको छ । निगमका अनुसार जापान र चीन दुवै देशका गन्तव्यमा कर्मचारी व्यवस्थापन भइसकेको छ ।
निगमले हाल भारतको नयाँदिल्ली, बैङ्लोर, मुम्बई, मलेशिया, सिङ्गापुर, बैंकक र कतारमा उडान भर्दै आएको छ । निकट भविष्यमै चीन, दक्षिण कोरिया र साउदी अरबमा पनि सीधा उडान गर्ने तयारी अगाडि बढाएको छ । निगमसँग हाल दुई अन्तरराष्ट्रिय वाइड बडी ए–३३० जहाज, दुई न्यारो बडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज रहेका छन् ।
Visited 2 times, 1 visit(s) today


