मूल्य निर्धारण अब निजीक्षेत्रले नै गर्छ : महानिर्देशक गौचन |
काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले अब मूल्य निर्धारण आफ्नो सीमामा रहेर निजीक्षेत्रले नै गर्ने बताएका छन् । उनले भने, ‘मूल्य निर्धारण गर्ने काम सरकारको होइन, त्यो काम अब निजीक्षेत्रले गर्छ, त्यसका लागि केही सीमाहरू बनाइरहेका छौं । अब निजीक्षेत्रले त्यही सीमामा रहेर मूल्य निर्धारण गर्नु पर्छ ।’
महानिर्देशक गौचनले कञ्जुमर आई नेपालले शुक्रवार आयोजना गरेको कार्यक्रममा त्यस्तो भनाइ राखेका हुन् । उनले आफूहरूको काम बजारमा भएका मिसावट र मूल्यका विषयमा मात्रै अनुगमन गर्ने भएको बताए ।
रेष्टुरेन्ट तथा बारहरूले लिंदै आएको अतिरिक्त १० प्रतिशत सेवा शुल्क हटाउने निर्णयको स्वागत गर्न आयोजित उक्त कार्यक्रममा कञ्जुमर आई नेपालकी अध्यक्ष बिमला खनालले होटल रेष्टुरेन्टबाट वस्तु तथा सेवा उपभोग गरेबापत लाग्ने १० प्रतिशत सेवा शूल्क हटाउने निर्णय स्वागत योग्य भएको बताइन् ।
कार्यक्रममा युवासंघ नेपालका अध्यक्ष रमेश पौडेलले श्रमिक र होटल मालिकबीच भएको समस्या समाधानका लागि युवा संघले सहकार्य गर्ने बताए ।



