कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह |
काठमाडौं । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले कृषि बीमामा सरकारले दिएको सुविधाको उपयोग गर्न आग्रह गरेका छन् । उनले बैंकबाट कर्जा लिएर गरिने व्यवसायको जोखिम न्यूनीकरण अनिवार्य रहेको उल्लेख गर्दै त्यस्तो सुविधा उपयोग गर्न आग्रह गरेका हुन् । बुटवलमा आयोजित बैंकिङ, बीमा र पूँजी बजार प्रदर्शनीमा बोल्दै चापागाईंले त्यस्तो धारणा राखेका हुन् ।
उनले मानव जीवन, सम्पत्ति, व्यवसाय, कृषि उत्पादनलगायत हरेक क्षेत्रमा हुने आर्थिक क्षति न्यूनीकरण गर्न बीमाले सहयोग पु¥याउने पनि बताए । बैंक र बीमा व्यवसाय एकअर्काका अभिन्न अंग भएको बताउँदै उनले यी दुवै व्यवसायको विकास पनि सँगसँगै अघि बढाउनुपर्ने स्पष्ट पारे ।
प्रदर्शनीमा बीमा समिति, नेपाल धितोपत्र बोर्ड, युवा तथा साना व्यवसायी स्वरोजगार कोष, विभिन्न वाणिज्य बैंकहरू, विकास बैंक, बीमा कम्पनीहरू, वित्त कम्पनी, मर्चेन्ट बैंक, लघुवित्त कम्पनीहरू, स्टक ब्रोकर कम्पनीहरूलगायतको सहभागिता रहेको थियो ।



