विरोधका बाबजुद शिक्षा विधेयक भयो पास | सरकारले तानाशाही शैलीमा विधेयक पास गर्यो : देउवा, अब सडक र सदन दुवैबाट आन्दोलन गर्छौं : गगन थापा
काठमाडौं । सरकारले संसदमा पुर्याएको ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५’ अन्ततः आज शुक्रवार संसद्बाट पास भएको छ । प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसका सांसदहरूको अवरोधका बीच संसद्ले उक्त विधेयक पास गरेको हो ।
कांग्रेस सांसदहरूले नाराबाजी गर्दै विरोध जनाइरहेको बेला सभामुखले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विधेयक टेबुल गर्न अनुमति दिएका थिए । विपक्षी कांग्रेसका सांसदहरूले मन्त्री पोखरेललाई रोक्न खोजे पनि मर्यादापालकले उनलाई रोष्टममा पुर्याएका थिए ।
मन्त्री पोखरेलले रोष्टममा पुगेपछि विजयी भावमा हात हल्लाउँदै ‘विधेयकमाथि छलफल गरियो’ भन्ने प्रस्ताव पेश गरे । विपक्षी नाराबाजी गरिरहेकै थिए भने सत्तारुढ दल रोष्टममा जान सकिरहेका थिएनन् । लगत्तै शिक्षा तथा स्वास्थ्य समितिको प्रतिवेदनलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव पास भयो । त्यतिबेलासम्म मन्त्री रोष्टममै बसेका थिए । लगत्तै सभामुखले समय दिएपछि मन्त्री पोखरेलले ‘विधेयक पास होस्’ भन्ने प्रस्ताव पेश गरे । अन्ततः बहुमतप्राप्त सत्तारुढ नेकपाको संसद्ले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पास गरेरै छाड्यो ।
शिक्षामन्त्रीको प्रतिक्रिया

चिकित्सा शिक्षा विधेयक पारित भएपछि गिरिराजमणि पोखरेलले विकल्प नभएपछि विधिसम्मत तरिकाले पद्धतिमा गएर विधेयक पास गरिएको बताए । आज शुक्रवार विधेयक पास भएपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले यसअघि विधेयकका विषयमा समिति र उपसमितिमा सहमति जुटाउन हरप्रयत्न गरे नभएकाले पद्धतिमार्फत विधेयक पास गरिएको बताए ।
उनले पहिल्यै पास भइसक्नुपर्नेमा सहमतिका लागि प्रयास गर्दा केही दिन रोकिएको समेत स्पष्ट पारे । उनले भने, ‘केही नलागेपछि पद्धतिमा गएका हौं । अव यसलाई कार्यान्वयनमा लैजानुपर्छ ।’
सभापति देउवाको प्रतिक्रिया

शिक्षा विधेयक संसद्ले पास गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारले तानाशाही शैलीमा उक्त विधेयक पास गरेको आरोप लगाउँदै चर्को आलोचना गरेका छन् । देउवाले संसद्को बैठकपछि प्रतिक्रिया दिँदै सभामुख कृष्णबहादुर महराले विधेयक प्रस्तुत गर्ने क्रममा आफ्नो मर्यादासमेत भुलेको आरोप लगाए ।
उनले भने, ‘प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गर्दागर्दै पनि जबर्जस्ती शिक्षा विधेयक पारित गरेको छ । यसका विरुद्ध, सरकारका विरुद्ध अब कांग्रेसले सडक र सदन दुवैबाट आन्दोलनको घोषणा गर्नेछ ।’
कांग्रेस सांसद गगन थापाको प्रतिक्रिया

कांग्रेसका सांसद गगन थापाले विधेयकका विषयमा प्रतिपक्षले असहमति जनाउँदा जनाउँदै एक पटक संवादसमेत नगरी दुई तिहाइको बलमा सरकारले विधेयक पास गरेको आरोप लगाए । उनले पनि सत्तापक्षले निषेधको राजनीति गरेको भन्दै सडक र सदनबाट सरकारविरुद्ध आन्दोलन शुरू गर्ने घोषणा गरे ।
सांसद थापाले सभामुख कृष्णबहादुर महराले प्रतिपक्षलाई ढाँटेर संसद् चलाएको समेत आरोप लगाए । उनले भने, ‘सरकार गोविन्द केसी मरे मरोस् भन्ने चाहन्छ । मुठभेड गर्न चाहन्छ । यो सरकारले गरेको कामको विरोधमा कांग्रेस जे पनि गर्न सक्छ ।’



