अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ बाँडफाँट, ५३ हजार ९५० जनाले पाए १० कित्ताका दरले सेयर
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको आइपीओ शुक्रबार (असार २२ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल ५३ हजार ९५० जना सर्वसाधारण लगानीकर्ताहरुले १० कित्ताका दरले सेयर पाएका छन् । यो आइपीओमा कुल १२ लाख ४७६ जनाले आवेदन दिएकामा २ हजार ३९९ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जानकारी गराएको छ ।
कम्पनीले असार १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि ५ लाख ३९ हजार ५ सय कित्ताका सेयर बिक्री खुला गरेको थियो । कुल ६ लाख ५० हजार कित्ता सेयर आइपीओमध्ये १०% अर्थात ६५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि यसअघि नै बाँडफाँट गरिसकेको छ । त्यस्तै, ५% अर्थात ३२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि र २% अर्थात् १३ हजार कित्ता कर्मचारीलाई छुट्याएर बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, अप्पर स्याङ्गे हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ ।


