वाईवाई ग्लोकल टिन हिरो इण्डियाको शुभारम्भ |
काठमाडौं । ग्लोकल प्राइभेट लिमिटेडले यो वर्षको ग्लोकल टिन हिरो इण्डियाको शुभारंभ गरेको छ । किशोर किशोरीहरूमा भएको प्रेरणा र उत्साहलाई प्रस्फुटन गराई उनीहरूले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाईवाई ग्लोकल टिन हिरो’ हो ।
उक्त कार्यक्रमले किशोर–किशोरीहरूमा भएको उत्साह, रचनात्मक चिन्तनको पहिचान गरी राष्ट्रको अन्य किशोर–किशोरीहरूलाई उद्यमी सोचाइको विकास गर्न उत्प्रेरित गर्ने आयोजकको विश्वास छ ।
कार्यक्रममा भारतीय राजदूत मञ्जीव सिंह पुरी, सीजीका भाइस प्रेसिडेण्ट जीपी शाहलगायत पूर्वनिर्णायक मण्डलका सदस्यहरू, केआरसी फाउनडेशन र भारतीय राजदूतावासका प्रतिनिधिहरूको उपस्थिति थियो ।
आयोजकका अनुसार ग्लोकल टिन हिरो इण्डियाको आवेदन १५ जनवरी २०१९ मा खुल्नेछ र २ अप्रिल २०१९ मा बन्द हुनेछ । यसको मुख्य कार्यक्रम २० अप्रिल २०१९ मा भारतको गुहाटीमा हुनेछ ।
दक्षिण एशियाली किशोर किशोरीको पहिचान गर्ने पहिलो कार्यक्रम, दक्षिण एशियाली ग्लोकल टिन हिरो २०२० काठमाडौंमा आयोजना गर्ने उद्देश्यले ग्लोकल प्रत्येक दक्षिण एशियाली राष्ट्रहरूमा ग्लोकल टिन हिरो आयोजना गर्दै अघि बढिरहेको छ र यसको शुरुवात भारतबाट भएको छ ।


