कियाको नयाँ स्पोर्टेज कार नेपाली बजारमा |

काठमाडौं । किया मोटर्सको नेपालका लागि आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ प्रालिले नयाँ स्पोर्टेज कार सार्वजनिक गरेको छ । किया मोटर्ससँग कन्टिनेन्टल ट्रेडिङले सहकार्य गरेको २५ औं वर्षको अवसरमा चौंथो पुस्ताको किया स्पोर्टेज सार्वजनिक गरिएको हो ।
चौथो संस्करणको स्पोर्टेजको आन्तरिक र वाह्य स्वरुप अन्य गाडीको तुलनामा थप आकर्षक र स्टाइलिस रहेको कम्पनीले दाबी गरेको छ । चार वटा भेरियन्टमा ल्याइएको गाडी पेट्रोल र डिजल भर्सनमा रहेका छन् ।

अटोमेटिक ट्रान्मिसनयुक्त गाडीमा आठ वटा स्पिड गरियरबक्स रहेका छन् भने नर्मल, इको र स्पोर्ट लगायत तीन वटा ड्राइभ मोड समावेश गरिएको कम्पनीले बताएको छ । कम्पनीका अनुसार यो गाडी हिमाल, पहाड र तराई तीनै क्षेत्रमा सहज र आरामदायी रुपमा प्रयोग गर्न सकिनेछ ।
अगाडिको भागमा एलइडी हेड ल्याम्प र एलइडी डे टाइम रनीङ लाइट जडान गरिएको गाडीमा यात्रु सुरक्षाको लागि अत्याधुनिक प्रविधि जडान गरिएको कम्पनीले जानकारी दिएको छ । गाडीमा चालक र यात्रुको सुरक्षालाई विशेष प्राथमिकता दिँदै अत्याधुनिक प्रविधि जडान गरिएको छ । कम्पनीका अनुसार यो गाडी विश्व बजारमा सर्वाधिक विक्री हुँदै आएको छ ।
ग्राहकका लागि गाडीमा प्याडल सिफ्टर, फराकिलो सनरुफ, हाइ सस्पेन्सन, सात इन्चको टच स्कृन, आठ वटा स्पिकर, एप्पल कारप्ले, एड्रोइड अटो सपोर्ट म्युजिक सिस्टम लगायतका सुविधा रहेको छ ।

गाडीलाई सुरक्षित, आधुनिक र आरामदायी बनाउनका लागि ब्रेकिङ सिस्टममा सहजता दिनका लागि नयाँ स्पोर्टेजमा इलेक्ट्रोनिक स्ट्याबलिटी कन्ट्रोल, भेहिकल स्ट्याबलीटी कन्ट्रोल, डाउनहिल एसिस्ट लगायतका सुविधा जडान गरिएको छ ।
ग्राहकले यो गाडी नौवटा विभीन्न रङमा खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार नयाँ स्पोर्टेजको नेपाली बजार मूल्य ६९ लाख ९० हजार रुपैयाँबाट शुरु गरिएको छ ।