निर्माण चरणमा गइसकेको आयोजनामा अवरोध गरिनु आपत्तिजनक छ : इप्पान |
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले रामेछापको लिखु–तामाकोशी गाउँपालिकामा निर्माणाधीन २८ दशमलव १ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजनामा भएको अवरोधप्रति आपत्ति जनाएको छ । स्थानीय जनताले निःशुल्क विद्युत् र निःशुल्क शेयरको माग राखेर आयोजनाको काम नै रोक्ने प्रयास गरिनु दुःखद् रहेको बताउँदै उक्त संस्थाले प्रभावित क्षेत्रका स्थानीय जनताको उक्त कदमप्रति आपत्ति जनाएको हो ।
इप्पानका अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, ‘राज्यका सबै निकायबाट विद्यमान कानूनी प्रबन्ध पूरा गरी निर्माण प्रक्रियामा रहेको अवस्थामा निर्माण कार्य नै रोकेर त्यस्ता माग राख्नु गलत संस्कारको शुरुआत हो । वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनअनुसार सबै मापदण्ड पूरा गरी स्थानीय जनताको मागसमेत सम्बोधन गरिसकेको अवस्थामा आयोजना रोक्नाले सरकारले घोषणा गरेको आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा हुन सक्दैन ।’
यही पुस २३ गते रामेछापको मन्थलीमा प्रदेश नं ३ का आर्थिक मामिलामन्त्री कैलाश ढुंगेलको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समिति, स्थानीय राजनीतिक दल तथा पूर्वसांसद र गाउँपालिकाका अध्यक्षसमेतको संयुक्त बैठकले आयोजनाको काम निर्वाध अगाडि बढाउने सहमति भए पनि उक्त सहमति कार्यान्वयन नभएको इप्पानको गुनासो छ ।
आयोजनाका लगानीकर्ता रहेका इप्पानका पूर्वअध्यक्ष डा. सुवर्णदास श्रेष्ठले ऐनअनुसार तोकिएको राजस्व भुक्तान गरी निर्माण चरणमा गइसकेको आयोजनामा अवरोध गरिनु आपत्तिजनक रहेको बताए । सो आयोजना श्वेतगंगा जलविद्युत् कम्पनीले निर्माण गरिरहेको छ । स्थानीयले निःशुल्क विद्युत्, निःशुल्क शेयर, अस्पताल निर्माणलगायतका असम्भव माग राख्दै आयोजनाको काम रोक्न दबाब दिएको डा. श्रेष्ठको गुनासो छ ।
आयोजना निर्माणका लागि आवश्यक पर्ने ढुंगा, गिटी, बालुवालगायतका सम्बन्धमा जिल्ला समन्वय समितिले वि.सं. २०७४ असार ३० गते गाउँपालिकालाई नै रोयल्टी रकम बुझाउन पत्राचार गरेकोमा अझैसम्म गाउँपालिकाले बालुवा, गिटीको शुल्क तोकेको छैन ।
Visited 2 times, 1 visit(s) today


