पहिलो पटक चारवटा क्यापिटल परे जरिवानामा | तीवटा क्यापिटललाई ३५३५ हजार, एउटालाई २५ हजार, हेर्नुहोस् को कतिमा परे ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले पहिलो पटक चारवटा योजना व्यवस्थापक (क्यापिटल) लाई जरिवाना गरेको छ । बोर्डले सीबीआईएल क्यापिटल, एनआईसी एशिया क्याापिटल, लक्ष्मी क्यापिटल मार्केट र एनएमबी क्यापिटललाई आर्थिक जरिवाना गरेको हो । उल्लेखित चारवटै क्यापिटलले नियम पालना नगरेकाले जरिवाना गरिएको बोर्डले जानकारी दिएको छ ।
बोर्डका अनुसार धितोपत्रसम्बन्धी ऐनको दफा १०१ को उपदफा ९७० बमोजिम, कानुनी व्यवस्था उल्लंघनका आधारमा आर्थिक जरिवाना गरिएको हो ।
यी चार क्यापिटलले सञ्चालन गरेको कोष योजनाहरूको लगानीको क्षेत्रअनुसारको सीमाभन्दा बढी हुने गरी लगानी गरेकाले जरिवाना गरिएको बोर्डले बताएको छ । बोर्डका अनुसार योजना व्यवस्थापकहरूको व्यवस्थाबमोजिम योजना व्यवस्थापकले प्रत्येक योजनाको रकम लगानी गर्दा बैंक निक्षेपमा योजनाको कुल सम्पत्तिको १० प्रतिशतभन्दा बढी नहुने गरी लगानी गर्नुपर्ने सीमा तोकिएको छ ।
बोर्डका अनुसार काठमाडौंको नक्सालमा रहेको एनएमबी क्यापिटल, बानेश्वरमा रहेको लक्ष्मी क्यापिटल मार्केट र डिल्लीबजारमा रहेको सीबीआईएल क्यापिटललाई ३५३५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । त्यस्तै, बबरमहलमा रहेको एनआईसी एशिया क्यापिटललाई २५ हजार रुपैयाँ जरिवाना तोकिएको छ । यी चारवटै क्यापिटलहरूले तोकिएको सीमाभन्दा बढी लगानी गरेको बोर्डले बताएको छ ।




