पर्यटकीय संस्था सोट्टो र नाट्टा मर्जमा जाने घोषणा | मधुुसूदन उपाध्यायको अध्यक्षतामा सोट्टोको नयाँ कार्यसमिति
काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा रहेका दुईवटा संस्था मर्ज हुने भएका छन् । पर्यटनका दुई संस्था सोसाइटी अफ टूर एण्ड ट्राभल अपरेटर्स नेपाल (सोट्टो) र नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेण्ट्स (नाट्टा) मर्ज हुने भएका हुन् । शनिबार राजधानीमा आयोजिन सोट्टो नेपालको ११औं वार्षिकोत्सव समारोहमा दुवै संस्थाका पादाधिकारीहरूले दुवै संस्था एक हुने घोषणा गरेका हुन् ।
सभामा नाट्टाका प्रथम उपाध्यक्ष अच्चुत शर्मा गुरागाईंले एकै प्रकृतिका दुई संस्था मिलेर अगाडि बढ्नुपर्ने भन्दै एकताको हात अगाडि बढाएका छन् । उनले भने, ‘हामी दुई संस्था एक भएर काम गर्दा संस्था बलियो हुने भएकाले मिलेरै जानुपर्छ । यसका लागि पहिले एक–दुईवटा काम मिलेर अर्थात् कार्यगत एकता गरेर गरौं, त्यसपछि संस्था नै मर्ज गरौला ।’
यसअघि झण्डै ११ वर्षपहिले केही व्यवसायीले उठाएका मुद्दालाई नाट्टाले बेवास्ता गरेपश्चात् व्यवसायीबीच ध्रुवीकरण भई दुई संस्था बनेका थिए । एकै प्रकारको काम गर्ने र एउटै धरातल भएका संस्था मर्जमा जानुपर्ने आवाज व्यवसायीले उठाएपछि अहिले मर्जको बहस सतहमै आइपुगेको छ र दुई संस्थाले पहिले कार्यगत एकता गर्ने र त्यसपछि एकढिक्का हुने बचनवद्धता जाहेर गरिसकेका छन् ।
सोट्टोको ११औं वार्षिक साधारणसभाले मधुुसूदन उपाध्यायको अध्यक्षतामा आगामी दुई वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको छ । कार्यसमितिको प्रथम उपाध्यक्षमा नारायण पराजुली, द्वितीय उपाध्यक्षमा मानबहादुर शाही, महासचविमा भुवनबहादुर पाण्डे चयन भएका छन् ।
निर्विरोधन निर्वाचित भएको सोट्टो कार्यसमिति पदाधिकारीका कोषाध्यक्षमा देवराज खनाल, सचिवमा दिनेश बस्नेत, सह कोषाध्यक्षमा भुवनदेवी महर्जन रहेका छन् । कार्यसमिति सदस्यहरूमा सविन खड्का, इन्दिरादेवी गौतम, कमलबहादुर मगर, गंगाप्रसाद गिरी, आनन्दकुमार क्षत्री, रामस्वरुप महासेठ र कमल जिसी चयन भएका छन् ।



