विश्वभर चर्चित अमेरिकी जिप्पो लाइटर अब नेपाली बजारमा | लाइटरमा लाइफटाइम ग्यारेण्टी, न्यूनतम मूल्य रू. २५ सयदेखि २४ हजारसम्म
काठमाडौं । अमेरिकालगायत विश्वका १ सय ६ भन्दा बढी देशमा लाइटरका लागि चर्चित ब्राण्ड जिप्पोका उत्पादनहरू पहिलोपल्ट औपचारिक रूपमा नेपाली बजारमा भित्रिएको छ । यसअघि छिटफुट रूपमा मात्र नेपाली बजारमा सो कम्पनीका विभिन्न उत्पादन लाइटर, टिसर्ट, चश्मालगायत वस्तुहरू देख्न पाइएको थियो । अब औपचारिक रूपमै नेपालमा पनि लाइफटाइम ग्यारेण्टी भएको जिप्पो लाइटर र अन्य उत्पादनहरूको विक्रीवितरण शुरू गरिएको छ । जिप्पो ब्राण्डको नेपालका लागि आधिकारिक वितरक जिपाल कम्पनी प्रालिले गत शुक्रवारदेखि आधिकारिक रूपमा नेपाली बजारमा सार्वजनिक गरेको हो ।
अबदेखि जिपाल कम्पनीले अमेरिकन कम्पनी जिप्पोबाट उत्पादित सम्पूर्ण उत्पादनहरू आयात गरी आधिकारिक रूपमा विक्रीवितरण गर्ने कम्पनीका म्यानेजिङ डाइरेक्टर धनबहादुर तामाङले जानकारी दिए । उनले भने, ‘नेपाली बजारमा अमेरिकी कम्पनी जिप्पोबाट उत्पादित उच्च गुणस्तरीय लाइटर, चश्मा, टिसर्टलगायतका वस्तुहरू नेपालमा पहिलोपल्ट आधिकारिक रूपमा जिपाल कम्पनीले भित्र्याएको छ । यी उत्पादनहरूलाई नेपालीहरूले मन पराउनु नै हुनेछ भन्ने अपेक्षा राखेका छौं ।’

कम्पनीका अर्का म्यानेजिङ डाइरेक्टर मनिष मिश्राले भने, ‘जिप्पोका १ सयभन्दा बढि भेराइटीहरु सुपथ मूल्यमा नै नेपालमा उपलब्ध गराइएको छ, हामीले यसका लागि सर्भिस सेण्टर पनि छिट्टै सञ्चालनमा ल्याउँदै छौं ।’
कम्पनीले नेपाली बजारमा जिप्पो ब्राण्डका लाइटरहरू न्यूनतम मूल्य रू. २ हजार ५ सय ६० देखि अधिकतम मूल्य रू. २४ हजारसम्ममा उपलब्ध गराएको जानकारी दिएको छ । जिप्पोको सार्वजनिक कार्यक्रममा नेपालका लागि जिप्पोका बजार प्रतिनिधि, जिपाल कम्पनी प्रालिका अधिकारीहरूको उपस्थिति रहेको थियो ।
सन् १९३२ मा अमेरिकी नागरिक जर्जजी ब्लेसफिल्डले जिप्पो ब्राण्डको लाइटरको डिजाइन तथा उत्पादन शुरू गरेका थिए । हाल जिप्पोको नेतृत्व ब्लेसफिल्डका नाति जर्ज बी ड्यूकले गरिरहेका छन् । उनी जिप्पोको बोर्डका चेयरमेन समेत हुन् । जिप्पोले लाइटरका साथसाथै त्यसका लागि आवश्यक पर्ने एसेसरिज, बहुउद्देश्यीय लाइटरहरु, पुरुष तथा महिलाहरूका लागि परफ्यूम, आईवेयरलगायतका वस्तुहरू उत्पादन गर्दछ ।
विश्वभर जिप्पोका संकलकहरु रहेका छन् । जसले जिप्पोका उत्पादनहरू निकै विशेष रूपमा संग्रह गरेर राख्ने गर्दछन् र त्यसका लागि विभिन्न देशमा जिप्पो क्लबहरूसमेत खोलिएका छन् । जिप्पोका लाइटरहरू हलिउड, बलिउड, म्यूजिक उद्योगमा निकै महत्वका साथ देखाउने तथा प्रयोग गर्ने गरिन्छ । हालसम्म २ हजार भन्दा बढी सिनेमा, स्टेज प्ले, टेलिभिजन शोहरूमा देखाइसकिएको छ । विश्वभर १६० भन्दा बढी देशहरूमा विक्री हुने ओरिजिनल जिप्पो लाइटरहरू अमेरिकामा नै बनेका हुन्छन् । जिप्पोले उत्पादन गरेका ३ मध्ये १ लाइटर संकलनमा राखिएको हुन्छ ।
जिप्पोको रोचक पक्ष भनेको यसका खरिदकर्ताले जिप्पोको उत्पादनहरूमा लाइफटाइम ग्यारेण्टी पाउँछ । अर्थात् जिप्पोको लाइटरमा कुनै समस्या आएमा कम्पनीले नै मर्मतको सेवा दिने गर्दछ । त्यसैगरी यो लाइटर एक हातले नै प्रयोग गर्न सकिन्छ भने यसमा आगो पार्नका लागि आवश्यक पर्ने तरल पदार्थ जिप्पोले नै विशेष रूपमा उत्पादन गर्दछ र यसलाई पुनः भर्न सकिने सुविधा छ ।
जिप्पोका लाइटरहरूको मुनिको भागमा विशेष किसिमले सिरिज नम्बर खोपिएको हुन्छ जून पुनः रिपेयरको लागि सर्भिस सेण्टरमा जाँदा कुन वर्षको लाइटर भन्ने जानकारी प्राप्त हुन्छ । नेपालमा जिपाल कम्पनीले खरिदकर्ताको आफ्नै नाममा वा अर्डरअनुसारको नाम खोपेरसमेत जिप्पो लाइटर किन्न सकिने सेवासमेत उपलब्ध गराएको छ ।



