भारतले दियो मीरगञ्ज पुल पूर्ण सञ्चालनको अनुमति, छोट्टियो ११६ किलोमिटर दुरी |
विराटनगर । चार लेन सडकसहित मीरगञ्जको परमान नदीमाथि पक्की मोटरेबल पुल बनेपछि भारतीय पक्षले एक बर्षपछि पुलबाट आवत जावत गर्न अनुमति दिएको छ । मोरङ ब्यापार संघको पहलमा सो अनुमति पाइएको संघले जनाएको छ ।
यो अनुमतिले भारतलगायत तेस्रो मुलुकबाट आउने कच्चा पदार्थलगायतको सामग्री बोकेका मालवाहक ११६ किलोमिटर सुनसरीको भण्टावारी नाकाबाट घुमेर आउनुपर्ने झन्झटबाट मुक्ति पाएको संघको भनाइ छ । अब चार किलोमिटर दूरी पार गर्नासाथ नेपालको आइसीपी आइपुग्ने संघले जनाएको छ ।
भारतको पटनास्थित कष्टम विभागले सूचना जारीगरी नयाँ मीरगञ्ज पुल सञ्चालनमा आएको र त्यसबाट मालवाहक आवतजावत गर्ने अनुमति दिएको जनाएको छ । यसअघि भारतका जोगवनीस्थित ल्याण्ड कष्टम र आइसीपीबीच समन्वय हुन नसक्दा आंशिक रुपमा मात्रै मालसामानको कार्गाे आयात निर्यात भइरहेको थियो ।
कष्टम विभागले नै सूचना जारी गरेपछि अब तेस्रो मुलुकबाट आउने र जाने सामानका लागि भण्टावारी नाका पुग्नु नपर्ने जनाउँदै आफ्ना मातहतका सबै निकायलाई बोधार्थ दिँदै सुचनालाई तत्काल कार्यान्वयन गराउन निर्देशन दिएको छ । सूचनासँगै विराटनगरको आइसीपीबाटै आयात र निर्यात औपचारिक रुपमा शुरु भएको छ ।
मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालको अगुवाईमा पटक पटक नेपाल र भारतीय अधिकारीलाई पुल सञ्चालनका लागि अनुरोध गरिएका थियो । अनौपचारिक रुपमा दुई महिनादेखि पुल सञ्चालनमा आएको थियो । पुल सञ्चालनमा आए पनि यसअघि भारत र नेपालका लागि मात्र कार्गाे आउने जाने गर्थे । तेस्रो मुलुकबाट आउने सामानको हकमा सुनसरीको भण्टावारी नाका प्रयोग हुँदैआएको थियो ।
अहिले भारतको कमिस्नर अफ कष्टम पटनाका अधिकारी प्रदीपकुमारले सूचना जारी गर्दै मीरगञ्ज पुल हुँदै आवत जावत खुलेको जानकारी गराएको छ । यसअघि २०२२ जनवरी ११ को सूचनाले जारी गरी मीरगञ्ज पुल भासिएकाले सम्पूर्ण कार्गाेको आवत जावत यो नाकाबाट बन्द गरी भीमनगर नाकाबाट सुचारु गरिएको सुचना जारी गरेको थियो ।


