सुनामी आउँदा इण्डोनेशियामा ४३ भन्दा बढीको ज्यान गयो |

काठमाडौं । इन्डोनेशियाको सुन्दा स्टेटस्थित समुद्रीतटमा आएको सुनामीमा परी कम्तीमा ४३ जनाको ज्यान गएको छ । ५ सय ८४ जना घाइते भएका छन् भने केही हराइरहेका छन् ।
सुनामीमा परी हराइरहेका तथा घाइते भएकाहरूको संख्या धेरै भएकाले मृत्युको संख्या बढ्न सक्ने अनुमान त्यहाँको विपद् व्यवस्थापन एजेन्सीले गरेको छ । विपद् व्यवस्थापन एजेन्सीका अनुसार, सुनामीबाट दुई जना हराइरहेका छन् । सयौं घरहरू भत्किएका छन् ।
सुनामीले सबैभन्दा धेरै पांडेलाङ, दक्षिण लाम्पुङ र सेराङ क्षेत्रमा क्षति पुर्याएको सरकारी अधिकारीहरुले बताएका छन् । विपद् व्यवस्थापन प्रमुखले सार्वजनिक गरेका तस्वीरहरूमा शहर पानीमा डुबेको देखिन्छ ।
क्राकाटोआ नामक ज्वालामुखी विस्फोटपछि समुद्रमुनि गएको पहिरोले सुनामी आएको हुनसक्ने अनुमान गरिएको छ । इन्डोनेशिया ज्वालामुखी विस्फोट तथा भूकम्पको चपेटामा पर्दै आइरहेको छ । त्यहाँ गत सेप्टेम्बरमा मात्रै भूकम्पपछि आएको सुनामीमा परी २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । (स्रोत : एजेन्सी)