भृकुटीमण्डपमा ‘निक इलेक्ट्रो टेक २०१८’ शुरू, ऊर्जामन्त्रीले गरे उद्घाटन |
काठमाडौं । नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै आएका कम्पनीहरूको आयोजनामा काठमाडौंमा ‘निक इलेक्ट्रो टेक २०१८’ आज शुक्रवारदेखि सञ्चालन भएको छ । काठमाडौंको भृकुमण्डपमा शुरू भएको उक्त मेलाको ऊर्जामन्त्री वर्षमान पुनले उद्घाटन गरेका हुन् ।
सो अवसरमा ऊर्जामन्त्री पुनले अबको ५ वर्षमा १५ हजार मेगावाट विद्युत् उत्पादन गर्ने दाबी गरे । उनले भने, ‘ढुक्क भएर विद्युतीय सामग्रीको उत्पादनमा लगानी गर्नुस्, हामी तपाईंको लगानी डुब्न दिँदैनौं ।’ सरकार पूर्ण रूपमा सुखी नेपाली समृद्ध नेपालको अभियानमा अघि बढिसकेको उनको भनाइ थियो । उनले नेपालमा उत्पादन भएका सामाग्री प्रयोग गर्न केही कानून बाधक भएकाले त्यस विषयमा पनि छलफल भइरहेको जानकारी दिए ।
उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष हुलास गोल्छाले ऊर्जा विकासले केही वर्षमै नेपालको इन्धन आयातमा ठूलो रकम कटौती हुने बताए ।
नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माले सरकारले ट्रान्सफर्मर आयातमा रोक लगाई नेपाली ट्रान्सफर्मर प्रयोग गर्न प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।
७७ भन्दा बढी स्टल रहेको उक्त मेलामा नेपालमै विद्युतीय सामग्री उत्पादन गर्दै आएका विभिन्न कम्पनीहरूले अत्याधुनिक विद्युतीय सामग्रीहरू प्रर्दशन गरेका छन् । मेलामा नेपाली उत्पादनलगायत बहुराष्ट्रिय कम्पनीहरूको उत्पादनहरू, ट्रान्समिसन तथा डिष्ट्रिब्यूसन सामग्री, ऊर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङका सामग्री, वायर, केबुल एवम् कण्डक्टर, हाउसहोल्ड उपकरण, लाइटिङ, फिक्चर्स, इलेक्ट्रोनिक उपकरण, कार्यालय प्रविधि, बहुसञ्चार उपकरण, सूचना प्रविधि, वैकल्पिक ऊर्जा तथा अन्य विद्युतीय सामग्रीको प्रदर्शनी गरिएको छ ।
मेलामा सहभागी उद्योगहरूले उपभोक्ताहरूसँग प्रत्यक्ष अन्तरक्रिया गरी आफ्ना उत्पादनहरूबारे जानकारी दिनेछन् । त्यस्तै, अवलोकनकर्ताको सहजता तथा खरिद गर्न रुचाउने आगन्तुकहरूका लागि छुट्टै सेल्स एरियाको व्यवस्थासमेत गरिएको छ ।
करिब १ लाखभन्दा बढी आगन्तुकहरूले अवलोकन गर्ने दाबी गरिएको उक्त मेला पुस १० गतेसम्म चल्नेछ ।



