चिनियाँ रेलवेको टोली आज चीन प्रस्थान, के के भए उपलब्धि ? हेर्नुस् |
काठमाडौं । चिनियाँ रेलवे प्रशासनको टोली पाँचदिने नेपाल भ्रमण सकेर आज फर्किएको छ । गत आइतवार नेपाल भ्रमणमा आएको उक्त टोलीले केरुङ–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाललाई हस्तान्तरण गर्नुका साथै केरुङ–काठमाडौं र काठमाडौं–पोखरा रेलमार्गको स्थलगत अध्ययनसमेत गरेर चीन फर्किएको हो ।
टोलीमा चीनको राष्ट्रिय रेलवे प्रशासनका उपप्रशासक आन लुसङको नेतृत्वमा १५ सदस्यीय प्रतिनिधिमण्डल नेपाल आएको थियो ।
चिनियाँ टोलीको नेपाल भ्रमणका उपलब्धिहरू
रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार नेपाल–चीन रेल वे सहयोगसम्बन्धमा तेस्रो बैठक सम्पन्न भयो । पहिलो बैठक नेपालमा र दोस्रो बैठक चीनमा बसेको थियो । तेस्रो बैठक पुनः नेपालमा भयो भने चौथो बैठकका लागि नेपाली टोली आगामी ३ महिनाभित्र चीन जाने तय भएको छ ।
केरुङ–काठमाडौं रेलमार्गको पूर्व सम्भाव्यता अध्ययन प्रतिवेदन नेपाल सरकारले औपचारिक रूपमा प्राप्त गरिसकेको छ । भौतिक पूर्वाधार मन्त्रालयकासचिव मधुसुदन अधिकारीले उक्त प्रतिवेदन ग्रहण गरेका हुन् । टोलीमा अर्थ, परराष्ट्र, गृह, वन र कानुन मन्त्रालयका प्रतिनिधि पनि सहभागी थिए । नेपालमा रेलवे जनशक्ति विकासका लागि आगामी दिनमा चिनियाँ पक्षले सहयोग गर्ने प्रतिवद्धता चीनले व्यक्त गरेको छ ।
अब चीनमा हुने चौथो बैठकमा नेपाली टोलीले केरुङ–काठमाडौं रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययनको मोडालिटी प्रस्ताव गर्नेछ । सो मोडालिटीमा सहमति भएको अवस्थामा विस्तृत सम्भावव्यता अध्ययन आरम्भ हुनेछ ।
Visited 2 times, 1 visit(s) today


