सिटिजन्स बैंकको नाफा र ईपीएस दुबै घट्यो |
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा र ईपीएस दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा बैंकले ८४ करोड १३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.११ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २३ करोड ९३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ५ करोड ५७ लाख रुपैयाँ रहेको छ।
खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको खुद नाफा घट्न दबाब पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १८.८८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.७७ प्रतिशत बढेको छ। बैंकको सञ्चालन मुनाफा भने समीक्षा अवधिमा २९.७१ प्रतिशत घटेको छ। समीक्षा अवधिमा बैंकको इम्पेरमेन्ट चार्ज ७ करोडबाट बढेर ६१ करोड ९२ लाख रुपैयाँ पुगेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी अर्थात ईपीएस पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ६० पैसा घटेर ११ रुपैयाँ ८५ पैसामा सीमित भएको छ। पुस मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १७.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ५२ पैसा रहेको छ।
पछिल्लो ६ महिनामा बैंकको चुक्ता पूँजी स्थिर रहेको छ भने जगेडा कोष ७.३१ प्रतिशत घटेको छ। त्यस्तै, बैंकको निक्षेप ४.३७ प्रतिशत बढेको छ भने कर्जा ५.५१ प्रतिशत बढेको छ।


