पुस मसान्त नजिकिँदै गर्दा ६ वटा विकास बैंकले मात्र घोषणा गरे लाभांश |

काठमाडौं । नेप्सेमा सूचीकृत १६ विकास बैंकहरु मध्ये ६ वटाले मात्र गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । प्रतिफल प्रस्ताव गर्ने बैंकहरुले साधारण सभा तथा लाभांश प्रयोजनका लागि बुक क्लोज पनि गरिसकेका छन् । सिन्धु विकास बैंकले भने सेयरधनीलाई लाभांश नदिने भएको छ । सूचीकृत कम्पनीहरुले पुस मसान्तभित्र साधारण सभा गरिसक्नु पर्ने कानुनी व्यवस्था रहेको छ । तर, ९ वटा विकास बैंकले भने अहिलेसम्म यस वियषमा कुनै प्रस्ताव गरेका छैनन् ।
लाभांश घोषणा गर्ने विकास बैंकमध्ये गरिमाले सबैभन्दा धेरै १४.५०% लाभांश प्रस्ताव गरेको छ । यसले १३% बोनस सेयर र कर सहित १.५०% नगद लाभांश प्रस्ताव गरेको हो । त्यसपछि, मुक्तिनाथ विकास बैंकले १३.५०% बोनस सेयर र कर तिर्न ०.७१% नगद वितरण गर्ने भएको छ । शाइन रेसुंगाले १३.५०% बोनस सेयर र ०.७०% नगद गरी जम्मा १४% लाभांश वितरण गर्ने भएको हो ।
सबैभन्दा कम महालक्ष्मी विकास बैंकले १०.४७% लाभांश प्रस्ताव गरेको छ । यसले ४% बोनस सेयर र ६.४७% नगद लाभांश (कर सहित) प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारित गर्न यस बैंकले पुस २९ गते साधारण सभा बोलाएको छ । अन्य विकास बैंकहरुले पनि पुस २२ गतेदेखि पुस ३० गतेसम्म साधारण सभा मिति तय गरेका छन् ।