एक्विजिशन तथा लाभांश प्रस्ताव पारित गर्न हिमालयन र सिभिल बैंकले बोलाए साधारण सभा |

काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकले एक्विजिशन तथा लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएका छन्। यी दुबै बैंकले पुस २८ गते, बिहीबार, साधारण सभा बोलाएका हुन्।
हिमालयन बैंकको तीसौँ वार्षिक साधारण सभा होटल सोल्टी, सोल्टीमोड, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ भने सिभिल बैंकको अमृतभोग, कालिकास्थान, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।
यी दुबै बैंकको सभाले हिमालयन बैंकले सिभिल बैंकलाई १०० बराबर ८०.२८ शेयर स्वाप रेशिया अर्थात सिभिल बैंकको १०० कित्ता बराबर हिमालयन बैंकको ८०.२८ कित्ता अनुपातमा शेयर आदानप्रदान गर्ने, प्राप्ति पश्चात हिमालयन बैंक लिमिटेडको नाममा एकिकृत कारोबार गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्तावहरु पारित गर्नेछ।
यसका साथै हिमालयन बैंकको सभाले ८ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ११.११ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ। सिभिल बैंकको सभाले भने ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ हिमालयन बैंकले पुस १८ गतेदेखि २८ गतेसम्म बुकक्लोज गर्ने भएको छ भने सिभिल बैंकले पुस १९ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हिमालयन बैंकका शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् भने पुस १८ गतेसम्म कायम सिभिल बैंकका शेयरधनीहरुले बैंकको सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।