सहरी विकास मन्त्रालयले बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने |
काठमाडौं । सरकारले बञ्चरेडाँडा ल्याण्डफिल साइट बनाउने भएको छ । यसको जिम्मा शहरी विकास मन्त्रालयलाई दिइएको छ । १७ मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटको बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने जिम्मा दिएको हो ।
बञ्चरे डाँडामा ल्याण्डफिल साइट कसले बनाउने भन्ने अन्यौल थियो । काठमाडौं महानगरपालिकासहित उपत्यकाका १८ वटा नगरपालिकाले केन्द्र सरकारको मुख ताकेर बसेका थिए ।
१७ वर्षअघि विस २०५८ सालमा काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि बञ्चरेडाँडामा ल्याण्डफिल साइट बनाउने भनिएको थियो । तर, हालसम्म सामान्य पूर्वाधारको काम समेत अघि बढेको छैन ।
उपत्यकाको फोहोर व्यवस्थापनका लागि सरकारले सन् २००९ मा अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर नेपवेस्टसहितका कम्पनीलाई छनोट गरेको थियो । त्यसपछि २०११ मा स्थानीय विकास मन्त्रालयले नेपवेस्टसँग द्विपक्षिय सम्झौता गरेको थियो । सन् २०१३ पछि यो परियोजना लगानी बोर्ड मातहत गएको थियो ।
यो कम्पनीसँग गत ०७४ फागुनमै लगानी बोर्डले प्रारम्भिक सम्झौता गरेको थियो । त्यसअनुसार बोर्डले १ असार २०७५ मा परियोजना विकास सम्झौता स्वीकृत पनि गरिसकेको छ ।


