३० प्रतिशत आइपीओसहित नयाँ स्टक एक्सचेन्ज खोल्न सकिने, चुक्ता पूँजी ३ अर्ब हुनुपर्ने |
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्ज सञ्चालन सम्बन्धी व्यवस्थाहरु थप गरी ‘धितोपत्र बजार सञ्चालन (दोस्रो संशोधन) २०७९ जारी गरेको छ । संशोधित नियमावलीमा नयाँ धितोपत्र बजार सञ्चालकको चुक्ता पुँजी कम्तीमा ३ अर्ब रुपैयाँ हुनुपर्ने उल्लेख गरिएको छ । साथै, बजारले कारोबार सञ्चालन गरेको २ वर्षभित्रमा आफ्नो जारी पुँजीको कम्तीमा ३०% सेयर सर्वसाधारणलाई निष्कासन गर्नुपर्ने व्यवस्था छ ।
यद्दपि, हाल सञ्चालनमा रहेको धितोपत्र बजारलाई भने चुक्ता पुँजी ३ अर्ब रुपैयाँ पुर्याउन अनिवार्य गरिएको छैन । साथै, सर्वसाधारणलाई ३०% आइपीओ जारी गर्नुपर्ने व्यवस्था पनि लागू हुने छैन । हाल सञ्चालनमा रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) एक मात्र धितोपत्र बजार हो । व्यवस्था अनुसार नेप्सेले ३ अर्ब रुपैयाँ पुँजी र सर्वसाधारणलाई आइपीओ जारी नगर्दा पनि हुने देखिन्छ ।
कानुन बमोजिम स्थापना भएका प्राइभेट कम्पनी वा संगठीत संस्थाले मात्र स्टक एक्सचेन्जको संस्थापक सेयर ग्रहण गर्न पाउने संशोधित नियमावलीमा उल्लेख गरिएको छ । कुनै एक कम्पनी वा त्यस कम्पनीको सञ्चालक वा सेयरधनी र निजका नजिकका नातेदार रहेका कम्पनीले धितोपत्र बजारको कुल सेयर पुँजीको १५% भन्दा बढी सेयर ग्रहण गर्न पाउने छैनन् । संशोधित नियमावली नेपाल धितोपत्र बोर्डले तोकेको मितिदेखि लागू हुनेछ ।


