बिक्री प्रबन्धकले गलत तथ्यांक राखेपछि बरुण हाइड्रोपावरको हकप्रद सेयर बिक्री स्थगित |
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनीको हकप्रद सेयरको बिक्री स्थगित भएको छ । सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङले सी–आस्वा प्रणालीमा हकप्रद सेयरका लागि गलत तथ्यांक राखेका कारण बिक्री स्थगित गरिएको हो । अब बिक्री प्रबन्धकले तथ्यांक सच्याएपछि मात्र बिक्री खुला गरिने सीडीएससीले जानकारी गराएको छ ।
बरुणले आज (भदौ ६ गते) देखि १ः१ अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले कुल २६ लाख ७९ हजार ५५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रद सेयर बिक्रीका लागि साउन २ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन १ गतेसम्म कायम सेयरधनीले कम्पनीले जारी गर्न लागेको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।
बरुणको हकप्रद सेयरमा भदौ २६ गतेसम्म आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ । हकप्रदमा आरबीबी मर्चेन्ट बैंकिङ र राष्ट्रिय वाणिज्य बैंकको विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै, मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।


