गत वर्ष फाइनान्स कम्पनीको नाफा औसतमा ३२.१६ प्रतिशतले घट्यो |
काठमाडौँ । गत आर्थिक वर्षमा फाइनान्स कम्पनीहरुको नाफामा उच्च गिरावट देखिएको छ। १५ वटा फाइनान्स कम्पनीको नाफा औसतमा ३२.१६ प्रतिशतले घटेको हो।
गत आर्थिक वर्षमा १५ वटा फाइनान्सले कुल १ अर्ब ३३ करोड ७५ लाख रुपैयाँ नाफा कमाएका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो नाफा १ अर्ब ९७ करोड १७ लाख रुपैयाँ रहेको थियो।
अघिल्ले वर्ष धेरै फाइनान्स कम्पनीहरुले शेयर बजारमा कारोबार गरेर राम्रो नाफा कमाएका थिए। तर गत आर्थिक वर्षमा एकातिर केन्द्रिय बैंकले शेयर कारोबारमा कडाई गरेको छ भने अर्कोतर्फ शेयर बजार पनि लगातार घट्दो क्रममा छ। यसले गर्दा फाइनान्स कम्पनीहरुले शेयर कारोबारबाट कमाउने आम्दानी घटेको छ। जसको असर नाफामा देखिएको हो।
गत वर्ष बेष्ट फाइनान्सले सबैभन्दा धेरै नाफा कमाएको छ। फाइनान्सले खुद नाफा १०२ प्रतिशतले बढाएर १६ करोड ७२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो फाइनान्स कम्पनीहरुमा सबैभन्दा ठुलो बृद्धिदर हो।
यस्तै गत वर्ष नेपाल फाइनान्सले ८५ प्रतिशतले नाफा बढाएको छ भने समृद्धि फाइनान्सले २१ प्रतिशत, गुडविल फाइनान्सले २ प्रतिशत र आइसिएफसि फाइनान्सले २ प्रतिशतले नाफा बढाएका छन्। बाँकी फाइनान्सको भने नाफा घटेको छ।
गत आर्थिक वर्षमा मञ्जुश्री फाइनान्सको नाफा सबैभन्दा धेरै घटेको छ। अघिल्लो वर्षको तुलनामा फाइनान्सको नाफा ८० प्रतिशतले घटेको छ। यस्तै मल्टिपर्पस फाइनान्सको नाफा ७३ प्रतिशतले घटेको छ भने गोर्खज फाइनान्सको ५४ प्रतिशत, रिलायन्स फाइनान्सको ४६ प्रतिशत, सेन्ट्रल फाइनान्सको ४१ प्रतिशत, जानकी फाइनान्सको ३२ प्रतिशत, पोखरा फाइनान्सको २० प्रतिशत, श्री इन्भेष्टमेन्ट फाइनान्सको १९ प्रतिशत र गुह्वेश्वरी फाइनान्सको ३ प्रतिशतले घटेको छ।



