निर्धन उत्थानको खुद नाफा १३.५०% ले घट्यो |
काठमाडौं । निर्धन उत्थान लघुवित्तले गत आर्थिक वर्षको अन्त्यसम्ममा १ अर्ब २ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा अघिल्लो वर्षको यसै अवधिमा भन्दा १३.५०% थोरै हो ।
अघिल्लो वर्ष यसले १ अर्ब १८ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो । असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ११.७६% र सञ्चालन नाफा भने ४३.९८% ले घटेपछि खुद नाफा पनि प्रभावित भएको हो ।
यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । निर्धनको चुक्ता पुँजी २९.५०% ले बढेको छ । रिजर्भ कोषमा पनि १२.२५% सुधार हुँदै १ अर्ब ८० करोड रुपैयाँ जम्मा भएको छ ।
कम्पनीको खराब कर्जा ४.११% बाट घटेर ३.१३% मा झरेको छ । पुँजी वृद्धि र खुद नाफामा कमी हुँदा यसको प्रतिसेयर आम्दानी २३ रुपैयाँ २९ पैसाले घटेर ४६ रुपैयाँ ८५ पैसामा आएको छ । प्रतिसेयर नेटवर्थ भने २१९ रुपैयाँ ८६ पैसा छ ।



