आदर्श लघुवित्तको अधिकांश सूचकमा आकर्षक सुधार |
काठमाडौँ । आदर्श लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अधिकांश वित्तीय सूचक आकर्षक देखिएको छ । यस लघुवित्तको खुद नाफा ८८६.१२% ले बढेर गत आर्थिक वर्षको अन्त्यसम्ममा ६८ लाख ९३ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा संस्थाले ६ लाख ९९ हजार रुपैयाँ मात्र नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी १४.४६% ले बढेको छ । अघिल्लो वर्षको तुलनामा कम रकम प्रोभिजनिङमा गर्नुपर्ने भएपछि सञ्चालन नाफा ८४१.६०% ले बढेको छ । सोही कारण खुद नाफामा पनि उल्लेख्य वृद्धि भएको हो ।
यता, खुद नाफा वृद्धिमा राइट ब्याकले पनि सहयोग गरेको छ । कम्पनीले यस अवधिमा १० लाख ७४ हजार रुपैयाँ राइट ब्याक गरेको हो । कम्पनीको चुक्ता पुँजी २ करोड ७ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोष पनि आकर्षक देखिएको छ । रिजर्भमा १०३.९०% ले सुधार हुँदै १ करोड २३ लाख रुपैयाँ जम्मा भएको छ । असार मसान्तसम्म आइपुग्दा आदर्शको प्रतिसेयर आम्दानी ३३ रुपैयाँ २९ पैसा कायम भएको छ । प्रतिसेयर नेटवर्थ भने १५९ रुपैयाँ ८८ पैसा रहेको छ ।


