सबै सहकारीमा तरलताको समस्या छैन, एकै पटक बचत फिर्ताकाे माग नगर्न सहकारी अभियानकाे अपिल |
काठमाडौं । धमाधम सहकारी संस्थाहरु समस्यामा परेका खबरहरु आउन थालेपछि सहकारी अभियानले आज संयुक्त अपिल जारी गरेकाे छ ।
संयुक्त अपिल गर्दै अभियानले बाहिर बजारमा गरिएको हल्ला अनुसार सबै सहकारी संस्थाहरुमा तरलताको समस्या नरहेको स्पष्ट पारेको छ ।
देखिएका समस्याप्रति ध्यान केन्द्रित गर्दै राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून), नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघ, नेपाल कृषि केन्द्रीय सहकारी संघ, बागमती प्रदेश सहकारी संघ, बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ र काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रे जिल्लाका विषयगत संघहरुले संयुक्त अपिल जारी गरेका हुन् ।
सदस्यहरुले नै आफू आवद्ध संस्थालाई दिगो, विश्वसनीय र सक्षप बनाउन अहम भूमिका रहेको बताएका छन् ।
सहकारी ऐन कानुनमा व्यवस्था भए बमोजिम कूल बचत निक्षेपको १० देखि २० प्रतिशत रकम तरलता व्यवस्था गर्दा पनि एकैपटक सबै सदस्यलाई बचत निक्षेप फिर्ता गर्न सम्भव नहुने बताइएको छ।
अभियानले समस्याग्रस्त भएका सहकारीहरुको नकारात्मक प्रभाव कारण अन्य सहकारीहरुमा परेको हुँदा तरलता व्यवस्थापन गर्न मुस्किल परेको उल्लेख गरिएको छ। सबै सदस्यले एकैपटक बचत माग गर्दा संस्थाको छविमा नकारात्मक असर पुग्ने, भुक्तानी प्रकृयामा असन्तुलन हुने त्यसप्रति ध्यान केन्द्रित गर्न अपिल गरिएको छ।
सहकारीमा शेयरको रुपमा लगानी गरिएको शेयर पूँजी र निश्चित अवधिपछि एकमुष्ट भूक्तानी लिने गरी राखिएको आवधिक बचत, क्रमिक बचत रकमहरु अवधि समाप्त हुनु अगावै फिर्ता नगरेकाे बताएको छ। त्यसैगरी, ऐच्छिक साधारण एवं कारोबार बचतहरुकाे भुक्तानी गर्दा संस्थासँग आपसी सहमतिमा बचत रकमको एकपटकमा बढीमा ५ प्रतिशत मात्रै भुक्तानी गर्ने व्यवस्था गर्ने उल्लेख गरेको छ।
सहकारी अभियानले चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको सहकारीलाई सुशासनमा राख्न दोस्रो तहको नियामक निकाय गठन गर्ने व्यवस्था तत्काल कार्यान्वयन गर्न पर्नेमा जोड दिएको छ।


