नेपालीको प्रतिव्यक्ति आय १६ हजार २२६ रुपैयाँले बढ्यो,आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने |
काठमाडौं । नेपालको प्रतिव्यक्ति आय १३७२ अमेरिकी डलर पुगेको छ । यो रकम गत आर्थिक वर्ष २०७७/७८ को तुलनामा १६ हजार २२६ रुपैयाँ बढी हो ।
केन्द्रीय तथ्याङ्क विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्याङ्क विवरण अनुसार नेपालीको प्रतिव्यक्ति आय वाषिर्क १३७२ अमेरिकी डलर पुगेको हो । गत आव २०७७/७८ मा प्रतिव्यक्ति आय १२३९ अमेरिकी डलर रहेको थियो ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार आर्थिक वर्ष २०७६/७७ मा भने प्रतिव्यक्ति आय ११५६ अमेरिकी डलर रहेको थियो । विभागले बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गरेको हो ।
स अवधिमा नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) आधारभूत मूल्यमा ४१ खर्ब ५ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्षको तुलनामा जीडीपीको आकार ३ खर्ब ७२ अर्ब २७ करोड रुपैयाँले बढेको हो। गत आर्थिक वर्ष ३७ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ रहेको थियो।
त्यसैगरी, विभागको तथ्यांक अनुसार चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने भएको छ । कुल उत्पादन आधारभूत मूल्यमा ७३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने मध्यवर्ती उपभोग उपभोक्ताको मूल्यमा ३२ खर्ब ५१ अर्ब ६ करोड रुपैयाँ रहेको छ।
चालु मूल्य अनुसार कुल गार्हस्थ उत्पादन उपभोक्ताको मूल्यमा ४८ खर्ब ५१ अर्ब ६३ करोड र चालु मूल्यमा कुल स्थिर पुँजी निमार्ण १४ खर्ब २५ अर्ब ८ करोड रहेको छ। चालु मूल्यमा वस्तु तथा सेवा निर्यात ६.६१ प्रतिशतले बढेर ३ खर्ब २० अर्ब ७१ करोड पुगेको छ भने वस्तु सेवा आयात ४१.४९ प्रतिशतले बढेर १८ खर्ब २० अर्ब ८२ करोड पुयेको देखिन्छ। चालु मूल्यमा कुल राष्ट्रिय वचत कुल गार्हस्थ्य उत्पादनको ३१.९५ प्रतिशत रहदा विप्रेषण ९ खर्ब ६१ अर्ब ७ करोड रुपैयाँ रहेको पाइन्छ।


