नवनियुक्त उद्योग मन्त्री बडू समक्ष महासंघको भेटवार्ता |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वको प्रतिनिधिमण्डलले नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूलाई उद्योग व्यवसायका समस्या समाधान गर्न आग्रह गरेका छन् ।
शुक्रबार मन्त्रालयमा भएको भेटवार्तामा महासंघको तर्फबाट बधाई एवं शुुभकामना दिने क्रममा महासंघले सो आग्रह गरेको हो ।
लामो समयपश्चात उद्योग, वाणिज्य तथा आपूर्ति क्षेत्रले नेतृत्व पाएकोमा खुशी प्रकट गर्दै विद्यमान चुनौतीपूर्ण घडीमा उद्योग व्यवसायका समस्या समाधानका लागि आग्रह गरियो ।
भेटवार्तामा महासंघका अध्यक्ष गोल्छाले तरलता अभाव, चर्को व्याजदर, विद्युत कटौती, इन्धनको चर्को मूल्य वृद्धिका कारण औद्योगिक व्यवसायिक लागत अत्याधिक बढेकाले निकास दिन नवनियुक्त मन्त्रीसमक्ष अनुरोध गरे ।
उद्योगमन्त्रीबाट यस क्षेत्रको समग्र समाधानमा चालिने प्रयासमा महासंघले पूर्ण सहयोग गर्ने विश्वाससमेत दिलाए । भेटवार्तामा महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अन्जन श्रेष्ठ, रामचन्द्र सघाई, कोषाध्यक्ष सुकुन्तलाल हिराचन, महानिर्देशक गोकर्णराज अवस्थीको सहभागिता रहेको थियो ।
सो अवसरमा मन्त्री बडूले निजी क्षेत्रसँग सहकार्य गर्न आफू सदैव तयार रहेको बताए । विद्यमान समस्याका विषयमा महासंघले राखेका चासोप्रति आफूपनि अत्यन्त गम्भीर रहेको र यस सम्बन्धमा आफूले छिट्टै बृहद छलफलको आयोजना गरी एउटा निकास दिन प्रयत्न गर्ने विश्वास मन्त्री बडूले दिलाए ।


