चैतमै दर्ता भए सात विदेशी उद्योग, एक अर्ब लगानी |
काठमाडौं । चैत महिनाको हालसम्म विदेशी लगानीका सात वटा उद्योग दर्ता भएका छन् । उद्योग विभागको तथ्याङक हेर्दा चैत्र महिनाको एक गतेदेखि २७ गतेसम्म १ अर्ब ६५ करोड २० लाख रुपैयाँ लगानीका सातवटा उद्योग दर्ता भएका हुन् । जसबाट ३०६ जनाले रोजगारी पाउने भएका छन् ।
दर्ता भएका उक्त उद्योगहरुमध्ये धेरै उद्योगहरु उपत्यका केन्द्रित रहेका छन् । विभागको तथ्याङक अनुसार विदेशी लगानीमा दर्ता भएका सात वटा उद्योगहरु काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका छन् । यसरी तथ्याङक हेर्दा विदेशी लगानीका धेरैजसो उद्योगहरु उपत्यकामा मात्र रहेका देखिन्छन् ।
विभागको तथ्याङक अनुसार चैत्र महिनामा काठमाडौंमा विदेशी लगानीमा तीनवटा उद्योग दर्ता भएका छन् । यस अवधिमा दर्ता भएका उद्योगहरुमा १५ करोड रुपैयाँ लगानीको इन्टरनेशनल कार्गो ह्यान्डलिङ इन्डष्ट्रि, विजनेश इन्कब्सन सर्भिस र कन्ट्रक्सन सर्भिस रहेका छन् । दर्ता भएका उक्त उद्योगहरुबाट २७१ जनाले रोजगारी पाउने भएका छन् ।
त्यस्तै, यस अवधिमा दर्ता भएका विदेशी लगानीका उद्योगमा भक्तपुरमा १० करोड २० लाख रुपैयाँ लगानीको सर्भिस ओरेन्टेड, २५ करोड रुपैयाँ लगानीका दुईवटा होटल वीथ रेष्टुरेन्ट उद्योग दर्ता भएको तथ्याङकमा उल्लेख छ । त्यसैगरी ललितपुरमा १ अर्ब २० करोड रुपैयाँ विदेशी लगानीको इन्भेष्टमेन्ट कम्पनी दर्ता भएको छ । जसबाट ३५ जनाले रोजगारी पाउने भएका छन् ।


