एफएनसीसीआईको ५६ औं वार्षिक साधारण सभा उद्घाटन | सभामुख सापकोटाद्वारा निजी क्षेत्रका सुझावलाई कार्यान्वयनमा जोड
काठमाडौं । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५६ औं वार्षिक साधारण सभा उद्घाटन गरिएको छ । उद्योग वाणिज्य दिवस २०७८ को अवसरमा संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले वार्षिक साधारण सभाको उद्घाटन गरेका हुन् ।
सभामुख सापकोटाले मुलुकको आर्थिक विकासमा सरकार निजी क्षेत्र एकै रथका दुुई पाङग्रा भएको बताएका छन् । आर्थिक विकास निजी क्षेत्रको सहभागिता र सहयोगबिना सम्भव नहुने भएकाले निजी क्षेत्रले उठाएका आवाजलाई सरकारले गम्भीरता पूर्वक लिनुुपर्नेमा सभामुखले जोड दिए ।
मुलुकको अर्थतन्त्र, रोजगारी, पूजी निर्माण, लगानी आकर्षणका महत्वपूर्ण आधार निजी क्षेत्रलाई सधै उच्च प्राथमिकतामा राख्नुपर्नेमा उनको जोड थियो । राष्ट्रका लागि तपाईहरुको योगदान कति महत्वपूर्ण छ भन्ने कुरालाई आफूले राम्रो बुुझेको बताउदै आफ्नो तर्फबाट निजी क्षेत्रका समस्या समाधानमा सधै सहयोग रहने विश्वास दिलाए ।
महासंघका अध्यक्ष शेखर गोल्छाले हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिन माग गरे । उनले भने, ‘हामी लगानी गर्छौं, प्रक्रिया सहज बनाइदिनुहोस् । हामी उत्पादन गर्छौं, अवरोध नगरिदिनुहोस् । हामी रोजगारी दिन्छौं, हडताल नगरिदिनुहोस् । हामी निर्यात गर्छौं, प्रोत्साहन गरिदिनुहोस् । हामी पर्यटक ल्याउँछौं, स्वागत गरिदिनुहोस् । हामी राजस्व बुझाउँछौं, अपमान नगरिदिनुहोस् ।’
महासघमा २५ वर्ष निरन्तर सेवा गर्ने कर्मचारी वरिष्ठ विज्ञ हंसराम पाण्डे र कार्यालय सहयोगी श्रीकृष्ण श्रेष्ठलाई नगद सहित सम्मानपत्रबाट सम्मानित गरेको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालले लगभग ५७ प्रतिशत काम गर्न सक्ने उमेर समूहका जनता रहेको नेपालसंग जनसाङखिक लाभको अधिक सुविधा रहेको बताए । यूवा जनसंख्याको बाहुल्यता यसको सशक्त पक्ष रहेको उनले बताए । तर अबका केही वर्षहरुभित्र यसको भरपुर उपयोग गर्न सकेनौ भने हाम्रा लागि अझबढी कठिनाईका दिन आउने उनले बताए ।


