राष्ट्र बैंकका गभर्नर महाप्रसाद निलम्बित, कार्यवाहक गभर्नर निलम ढुंगाना | यसरी निलम्बनमा परे गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी निलम्बनमा परेका छन् । सरकारले उनीलाई पदमुक्त गर्न प्रक्रिया अघि बढाउँदै जाँचबुझ समिति बनाएपछि नेपाल राष्ट्र बैंक ऐनअनुसार उनी स्वतः निलम्बनमा परेका हुन् ।
गभर्नरलाई निलम्बन गरेर डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहकको जिम्मेवारी दिने निर्णय सरकारले गरेको हो । गभर्नर अधिकारीले सरकारका निर्णय चुहाएको र सरकारलाई असहयोग गरेको आरोप लागेको अर्थमन्त्रालय स्रोतले बताएको छ ।
सरकारलाई सहयोग नगरेको विषय लामो समयदेखि अर्थमन्त्री र गभर्नरबीचमा घोचपेच चलिरहेको थियो । गत विहीबारको मन्त्रिपरिषद्को बैठकमा नै चर्चाको विषय बनेको अर्थमन्त्रालयका एक कर्मचारीले बताए ।
यसरी परे निलम्बनमा
अर्थ मन्त्रालय स्रोतका अनुसार मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले गभर्नर अधिकारीले अर्थतन्त्रलाई धरासायी बनाएको ठहर गर्दै उनीमाथि छानबिन गर्न कमिटी बनाउने निर्णय गरेको थियो ।
सो निर्णयाअनुसार अर्थमन्त्रालयले शुक्रबार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा ३ सदस्यीय छानबिन समिति बनाएसँगै उनी निलम्बनमा परेका हुन् । छानबिन समितिमा डा सूर्य थापा र डा चन्द्रकान्त पौडेल सदस्य रहेका छन् । समितिलाई एक महिनाभित्र आफ्नो प्रतिवेदन दिने कार्यादेश दिइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नै गभर्नरबारे छानबिन गर्न क्याबिनेटमा अर्थमन्त्रीलाई निर्देशन दिएका थिए । अधिकारीले सक्षमता पूर्वक काम गर्न नसकेको आरोप लगाउँदै देउवा बैठकमा आक्रोशित बनेका थिए ।
गभर्नरसँग जोडिएको ऐनको व्यवस्थाअनुसार छानबिन समिति बनेपछि गर्भनर स्वतः निलम्बन हुने व्यवस्था छ । शिक्षामन्त्री देवेन्द्र पौडेलका अनुसार प्रधानमन्त्रीले अर्थमन्त्रीलाई के भएको हो भनि गभर्नरबारे छानबिन गर्न बिहीबारको क्याबिनेट बैठकमा निर्देशन दिएका थिए ।


