अमेरिकीहरूकै स्वार्थका लागि एमसीसी आउन लागेको स्पष्ट भयो ː किसान महासंघ |
काठमाडौं । अखिल नेपाल किसान महासंघले अमेरिकी सहायक विदेशमन्त्रीले प्रयोग गरेको धम्कीपूर्ण भाषा, दबाब र हस्तक्षेप अन्तर्राष्ट्रिय प्रचलीत कानुन, परराष्ट्रनीति तथा कुटनीतिक मान्यता विपरीत भएको जनाएको छ ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै महासंघले राष्ट्रघाती मिलिनियम च्यालेन्ज कर्पाेरेसन परियोजना (एमसीसी)लाई लिएर अमेरिकी सहायक विदेशमन्त्रीले नेपालका शीर्ष नेताहरूसँग फोनवार्ताका क्रममा गरेको व्यवहारको आलोचना गरेको हो ।
अमेरिकी सहायक विदेशमन्त्री लु ले बिहीबार नेपालका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुलाई एमसीसी फिर्ता भए चिनको हस्तक्षेप ठान्दछौं भन्ने भनाई निकृष्ट, अपमानजनक, हस्तक्षेपकारी तथा धम्कीपूर्ण रहेको महासंघले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ “नेपालको आन्तरिक मामला र राजनीतिमा यो हर्कत पंचशीलको सिद्धान्त र अहस्तक्षेपको नीति विरुद्ध छ । राष्ट्रघाती मिलिनियम च्यालेन्ज कर्पाेरेसन सम्झौताको विरुद्धमा आम नेपाली जनता रहेको र यस सम्वन्धी विवाद आन्तरिक भएको स्पष्ट हुँदाहुँदै यसमा जनगणतन्त्र चिनलाई दोष दिनुले यो सम्झौता इन्डोप्यासिफिक रणनीतिको हिस्सा भएको र चीन घेराउ नीति अन्र्तरगत रहेको भन्ने कुरालाई छर्लङ्ग पारेको छ ।”
नाङ्गो हस्तक्षेप, दबाब र धम्कीले साम्राज्यवादी नीति र दादागिरीको पर्दाफास गरेको तथा यो सम्झौता नेपाल र नेपालीको हितका लागि नभई अमेरिकीहरूकै स्वार्थका लागि भएको स्पष्ट पारेको महासंघको दावी छ ।
साथै देश र जनताको हित विपरीत विदेशीको दलालीकै निम्ति राष्ट्रघाती सम्झौता संसदमा पेश गर्न र पारित गर्न आतुरहरूको दासताको मनोवृति पनि आम जनताले चिन्ने मौका मिलेको महासंघको विज्ञप्तिमा उल्लेख छ ।
महासंघका अध्यक्ष बलराम बास्कोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ “हामी साम्राज्यवादीहरुलाई नेपालीहरुको विरताको गाथा, राष्ट्रियता, स्वाभिमान र राष्ट्रियहितको लागि नेपालीहरुले गरेको संघर्षको इतिहासलाई नविर्सन चुनौति दिदै यस्ताखाले साम्राज्यवादका हर्कतहरुले वीरतापूर्वक लड्दै आफ्नो स्वाभिमान र राष्ट्रियता बचाउदै आएका नेपाली जनताहरुलाई तर्साउने होइन सहि रुपमा देशको लागि एकतावद्ध र राष्ट्रियताप्रति झनै प्रतिवद्ध बनाउने कुरा प्रति सजग रहन आग्रह गर्दछौं ।”
महासंघले विज्ञप्तिमार्फत यस्ता हर्कत विरुद्ध तथा राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता, शान्ति, सुरक्षा, अहस्तक्षेप, भातृत्वको पक्षमा दृढतापूर्वक उभिन अपितसमेत गरेको छ ।
राष्ट्रघाती तथा घातक परियोजना नेपाललाई साम्राज्यवादको खेलमैदान बनाउने, नेपालको सार्वभौमिता र सम्प्रभुता माथि दखल पु¥याउने साथै वामपन्थी आन्दोलनलाई सिध्याउने उद्देश्यले आएको महासंघको भनाई छ ।
महासंघले नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का जनवर्गीय संगठनहरुद्वारा आयोजित देशका ७७ जिल्लाका सदरमुकाममा फागुन १ गते दिउसो २ बजे हुने देशव्यापी विरोध कार्यक्रममा सहभागी आफ्ना सदस्यहरू र समुदायलाई आग्रहसमेत गरेको छ ।


