११.९६ अंक घट्यो नेप्से, ३ अर्ब ४७ करोडको कारोबार |
काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक २८०० को टेवा विन्दु परीक्षण गरेको देखिन्छ। कारोबार अवधिको अधिकांश समय नकारात्मक रहेको नेप्सेले यस दिन बारम्बर २८०० को टेवा विन्दु परीक्षण गरेको हाे।
बिहीबार नेप्से परिसूचक ११.९६ अंक घटेर २८०१.५६ विन्दुमा झरेको छ। त्यसैगरी, यस दिन सेन्सेटभि इण्डेक्स १.७ अंक घटेको छ भने फलेट इण्डेक्स १.१६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अंक घटेको छ।
नेप्से ओरालो लागेपनि यस दिन कारोबार रकम भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब ४७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन २२७ कम्पनीको ४९ हजार ५ पटकको कारोबारमा ३ अर्ब ८२ करोड ९५ लाख रुपैयाँबराबरको ६९ लाख ५० हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
बिहीबार एभरेष्ट इन्स्योरेन्सको संस्थापक शेयरको मूल्य सर्वाधिक ५.३३ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन नबिल इक्विटी फण्ड, सिन्धु विकास बैंक, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर, कुमारी इक्विटी फण्ड, एनएमबि ५०, साल्ट ट्रेडिङ्ग कर्पोरेशन र आइसीएफसीको मूल्य २ प्रतिशतभन्दा बढी बढेको छ।
कारोबारमा आएको मिथिला लघुवित्तको शेयरमूल्य यस दिन सर्वाधिक ४ प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन ग्लोबल आइएमए समुन्नत स्किम १, नेरुडे लघुवित्त, नेपाल फाइनान्स र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य यस दिन ३ प्रतिशतभन्दा बढी घटेको छ।
कारोबार रकमका आधारमा यस दिन नेपाल टेलिकम शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २५ करोड ४८ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन नेशनल हाइड्रोपावरको २२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने आइएमई जनरल इन्स्योरेन्सको करिब २० करोडको शेयर किनबेच भएको छ।
बिहीबार १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। यस दिन व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५७ प्रतिशत बढेको छ। त्यसैगरी, यस दिन अन्य उपसमूहको परिसूचक ०.५४ प्रतिशत र म्युचुअल फण्डको ०.०३ प्रतिशत बढेको छ। यस दिन जलविद्युत उपसमूहको परिसूचक ०.८१ प्रतिशत घटेको छ।


