दैनिक २५ सय नेपाली विदेशिंदै |
काठमाडौं । पछिल्ला दिनमा औसत करिब २५ सय जना नेपाली रोजगारीका लागि विभिन्न श्रम गन्तब्य मुलुकमा पुगिरहेका छन् । गत मंसिर महिनामा मात्रै ७४ हजार ३५४ जना नेपाली श्रमिक वैदेशिक रोजगारीका लागि विदेश पुगेका छन् । यो संख्या कात्तिक महिनाको भन्दा करिब साढे १९ हजारले बढी हो ।
वैदेशिक रोजगार विभागका अनुसार कोरोना महामारीका कारण दुई वर्षयता वैदेशिक रोजगारीमा आएको संकट हट्दै गएपछि विदेशिने नेपालीको संख्या बढ्दै गएको हो । वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या गत जेठयता लगातार उकालो लागिरहेको छ । मुख्य रुपमा खाडी मुलुक कतार, साउदी अरेबिया र यूएईमा जाने नेपालीको संख्या धेरै छ । कुवेत, ओमान लगायतका देशमा पनि नेपालीहरु गइरहेका छन् ।
विभागका अनुसार २०७८ वैशाखमा २४ हजार ३६३ जना नेपाली रोजगारीका लागि विदेश गएका थिए । त्यसमा १२ हजार ५३७ जना नयाँ श्रम स्वीकृति -संस्थागत तथा व्यक्तिगत-नयाँ र वैधानिकीकरण) लिएकाहरु थिए ।
तर, जेठमा विदेशिने नेपालीको संख्या घटेर ४ हजार ८६ मा सीमित भएको थियो । जेठमा ७८७ ले मात्रै नयाँ श्रम स्वीकृति लिएका थिए । असारमा २० हजार ६५८ जना नेपालीले विदेश जान श्रम स्वीकृति लिए । जसमा १० हजार ७ सय जना नयाँ र अरु यसअघि विदेश गएर फर्केकाहरू थिए ।
गत साउनदेखि मंसिरसम्म २ लाख ३० हजार जना नेपाली वैधानिक रुपमा वैदेशिक रोजगारीका लागि गएका छन् । साउनदेखि मंसिर महिनासम्म्म वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ३० हजार ४११ पुगेको छ । पुनः श्रम स्वीकृति लिनेको संख्या ९९ हजार ५८० पुगेको छ ।
विभागका अनुसार साउनमा २५ हजार ४२८ जना नेपाली कामका लागि विदेश गएका थिए । त्यसमध्ये मेनपावर कम्पनी र व्यक्तिगत पहलमा आएको नयाँ भिसामा जानेको संख्या १३ हजार ८ सय थियो । भदौमा २४ हजार ६९२ जनाले नयाँ श्रम स्वीकृति लिए भने श्रम स्वीकृति नवीकरण गर्नेसहित ३६ हजार ४० जना कामका लागि विदेशिएको विभागको तथ्यांकमा देखिन्छ । असोजमा ३९ हजार ६७१ जना नेपाली विदेश उड्दा २७ हजार ८२४ जना नयाँ श्रम स्वीकृति लिनेहरु थिए ।
कात्तिक महिनामा ५४ हजार ९१८ जाने विदेश जान श्रम स्वीकृति पाएका थिए । त्यसमध्ये ३० हजार १८ जनाले विदेशमा नयाँ कामको अवसर पाएका हुन् भने अन्य श्रम स्वीकृति नवीकरण गरेर पुरानै कार्यस्थलमा फर्किएकहरु थिए । कात्तिकमा मात्रै दैनिक औसत १ हजार ८३० जना श्रमिक विदेशिने गरेकोमा मंसिर महिनामा २ हजार ४७८ जना पुगेको विभागको तथ्यांकले देखाउँछ । मंसिरमा ३४ हजार ४ सय ९७ जना नयाँ भिसा लगाएर गएका हुन् भने ३९ हजार ८५७ जना पुरानो श्रम स्वीकृति नवीकारण गरेर उडेका छन् । पुस लागेयता विदेशिने नेपालीको संख्या थप बढेको वैदेशिक रोजगार व्यवसायीहरू बताउँछन् ।


