एमसीसी सम्झौताबारे निष्कर्षमा नपुगी सकियो सर्वदलीय बैठक | छलफल गर्न ३ सदस्यीय कार्यदल गठन
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे छलफल गर्न बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष सकिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको बैठकमा प्रमुख विपक्षी नेकपा एमाले सहभागी नै भएन । सत्तारुढ गठबन्धनमा रहेका दलहरुमा पनि एकमत देखिएन । बालुवाटारमा बसेको बैठकमा सबै राजनीतिक दलहरुले आ–आफ्नो धारणा राखेको र यस विषयमा पुनः छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने देखिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताए ।
कुन दलको अडान के ?
सर्वदलीय बैठकमा सहभागी नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने मत राखेका थिए । राष्टिय जनमोर्चाका प्रतिनिधिले पनि टेबल गर्न पनि नहुने र पास गर्न पनि नहुने मत राखेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले एमसीसी पास गर्न समर्थन गर्न नसक्ने बताए ।
सत्तारुढ घटक जनता समाजवादी पार्टीका नेताहरु भने विभाजित रुपमा प्रस्तुत भएका थिए । अध्यक्ष उपेन्द्र यादवले हतार गर्न नहुने धारणा राखेका थिए । तर संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो निजी विचार भन्दै एमसीसीमा केही आशंका भएपनि अघि बढाउनुपर्ने बताए । यदि सहमति जुट्दैन भने लोकतान्त्रिक विधिअनुसार पनि अघि बढ्न सकिने उनले बताए ।
बैठकमा माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरुको धारणा भने समान थियो । एमसीसी सम्झौतामा प्रश्न उठेकाले तथ्यगत छलफल गरेर मात्र निष्कर्षमा पुग्नुपर्ने बताएका छन् । ‘तपाईंहरुले हामीलाई अमेरिकी सहयोग लिनै चाहँदैनन् नभन्नुस्, हामी पनि तपाईहरुले राष्ट्रघात गर्ने नियत राख्नुभयो भन्दैनौं’ माओवादी केन्द्रका एक नेताले बैठकमा भएको छलफलबारे भने, ‘तथ्यगत रुपमा छलफल गरौं । तपाईहरुले सके हामीलाई कन्भिस गर्नुस्, हामीले सके तपाईंहरुलाई कन्सिभ गरौंला ।’
यद्यपि यथास्थितिमा भने एमसीसी सम्झौता अघि बढाउन नहुनु दुबै दलका नेताहरुको जोड थियो ।
बैठकमा सरकारको नेतृत्व गरिरहेको कांग्रेसका नेताहरु भने एमसीसी पास गर्नुपर्नेमा जोड दिएका छन् । एक नेता भन्छन्, ‘संसदमा टेबल गरौं भन्नमा प्रधानमन्त्रीको निकै जोड थियो । अरु नेताहरुले पनि पास गर्नुपर्छ भन्नुभयो ।’
सरकारका प्रवक्ता मन्त्री कार्कीले केही राजनीतिक दलले एमसीसी सम्झौताप्रति आशंका व्यक्त गरेकाले सबै विषयमा छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्ने बताए । ‘एमसीसीको बारेमा कसरी अगाडि बढाउने भन्ने बारेमा सबै दलले आआफ्नो विचार राख्नुभएको छ । कसैले आशंका व्यक्त गर्नुभएको छ । ती सबै कुरामा फेरि छलफल गरेर चाँडै निष्कर्षमा पुग्नुपर्छ’ उनले भने ।
३ सदस्यीय कार्यदल गठन
सत्तारुढ ५ दलीय गठबन्धनले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोसेशन (एमसीसी) बारे टुंगोमा पुग्न ३ सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलमा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल, नेपाली काँग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ छन् ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बस्नुअघि सत्तारुढ ५ दलीय गठबन्धनको बैठक बसेको थियो । सो बैठकले एमसीसीका सम्बन्धमा टुंगोमा पुग्न तीन नेतालाई जिम्मेवारी दिएको हो । कार्यदलले एमालेलगायत अन्य दलहरुसँग छलफल गरेर एमसीसीबारे ठोस निष्कर्षमा पुग्ने गठबन्धनका एक नेताले बताए ।
तीन सदस्यीय कार्यदलको नेतृत्व गरेका खनाल यसअघि नेकपाद्वारा गठित एमसीसी सम्बन्धी कार्यदलका समेत संयोजक थिए । खनालले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने बताउँदै आएका छन् । त्यसैगरी कार्यदलमा रहेका माओवादी नेता श्रेष्ठ पनि एमसीसी यही अवस्थामा पारित हुन नहुने लाइनमा छन् । कार्यदलका सदस्य रहेका मन्त्री कार्की भने यसअघि एमसीसी सम्झौताका हस्ताक्षरकर्ता समेत हुन् ।
तीन सदस्यीय कार्यदल गठनलगत्तै आइतबार बालुवाटारमा सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा काँग्रेसबाहेक सबै दलका नेताले एमसीसी यथास्थितिमा पारित हुन नसक्ने अडान राखेका थिए । सर्वदलीय बैठकमा डाकिएपनि प्रमुख प्रतिपक्षी एमाले भने अनुपस्थित रहेको थियो । गठबन्धनको बैठकले एमालेसँग समेत छलफल गर्ने जिम्मेवारी कार्यदललाई दिएको एक नेताले बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारमा हुँदा एमसीसी पारित हुनुपर्ने बताउँदै आएपनि सरकारबाट बाहिरिएपनि भने एमसीसीबारे अस्पष्ट धारणा राख्दै आएको छ ।


