शौर्य सिमेन्टले पायो ५३ ग्रेड मान्यता |
काठमाडौं । शौर्य सिमेन्टले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेड ग्रेड मान्यता पाएको छ । उदयपुरको चुनढुंगाबाट उत्पादित यो सिमेन्ट हालै नेपाली बजारमा उपलब्ध हुन थालेको हो । तर,छोटो समयमै गुणस्तर प्रमाणिकरण गराउन उत्पादक कम्पनी सफल भएको छ ।
५३ ग्रेड मान्यता पाएपछि शौर्य सिमेन्टले पुस मसान्तसम्म ग्राहकहरूलाई ४३ ग्रेडको मूल्यमा ५३ ग्रेडको सिमेन्ट उपलब्ध गराउने भएको छ । सिरहा जिल्लाको मिर्चैयामा उद्योग रहेको शौर्य सिमेन्टले ओपीसी र पीएससी सिमेन्ट उत्पादन गर्ने गरेको छ । आगामी दिनमा पीपीसी र लो अल्काली सिमेन्ट उत्पादन थाल्ने प्रक्रियामा रहेको उद्योगले जनाएको छ ।
यो उद्योग नै नेपालमा लो अल्काली सिमेन्ट उत्पादन गर्ने पहिलो उद्योग बन्दैछ । उद्योगले दैनिक ७० हजार बोरासहित ३५ सय मेट्रिकटन उत्पादन क्षमता राख्दछ,जसबाट देशभरको बजार माग सजिलै धान्न सक्ने उद्योगको दाबी छ ।
उद्योगले सिमेन्ट उत्पादनमा गुणस्तरीय कच्चा पदार्थको प्रयोग गर्ने गरेको र मुख्य कच्चा पदार्थको स्रोत उदयपुरको चुनढुंगा भएको कम्पनीले जानकारी दिएको छ । उदयपुरको चुनढुंगामा अलुमिनियम र म्याग्नेसियमको मात्रा निकै कम रहेकाले यसबाट उत्पादित क्लिन्कर उच्च गुणस्तरको हुनेगर्छ ।
शौर्य सिमेन्ट इण्डष्ट्रिजले अल्काली हटाउने प्रविधि जडान गर्दैछ,जहाँ अल्काली बाइपास सिस्टम प्रयोग भएका कारण सिमेन्टमा अल्कालीको मात्रा कम हुन्छ,जसकारण निर्माणमा स्थायित्व कायम रहन्छ । यो उद्योगले ग्राइण्डिङ्ग प्रक्रियामा भर्टिकल रोलिङ मेसिन (भीआरए) प्रयोग गर्दछ,जुन सबैभन्दा उन्नत र ऊर्जा बचत गर्ने प्रविधि रहेको रहेको उद्योगको दाबी छ ।


