खानेपानीका अपुरा आयोजन यसै आर्थिक वर्षमा सम्पन्न गर्न खानेपानी मन्त्रीको निर्देशन |
जनकपुरधाम । खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी आयोजनासँग सम्वन्धित अधुरा आयोजनाहरु चालु आर्थिक वर्षमै सम्पन्न गर्न निर्देशन दिएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन परियोजना कार्यालय जनकपुर र मातहतका खानेपानी कार्यालयका प्रमुखहरुलाई आइतबार निर्देशन दिँदै यस्तो बताएका हुन ।
‘मेरो लक्ष्य र उदेश्य सरकारको नीति तथा कार्याक्रमलाई निर्धारित समयमै सम्पन्न गर्नु हो । कुनै आयोजना निर्माणमा नीतिगत निर्णय वा सहजीकरण र बजेट अभाव भएमा समयमै भन्नु होला’, मन्त्री चौधरीले भने, ‘संघीय सरकारले निर्माण सम्पन्न गर्नु पर्ने आयोजनामध्ये कतिवटाको अवस्था कस्तो छ ? मलाई प्रगति विवरण चाहिन्छ ।’
कुन आयोजना कहिलेसम्ममा सम्पन्न हुन्छन भन्ने विषयमा सम्वन्धित कार्यालयको प्रमुखले क्यालेन्डर बनाएर काम गर्न निर्देशन दिँदै मन्त्री चौधरीले यसै आर्थिक बर्ष भित्र सम्पन्न हुने आयोजनालाई कुनै पनि समस्या वा बहाना बनाएर नलम्ब्याउन निर्देशन दिए । उनले शुद्ध खानेपानी उपभोग गर्न पाउनु प्रत्येक नेपाली नागरिकको मौलिक अधिकार भएकाले जनतालाई केन्द्रमा राखेर काम गर्न कर्मचारीहरुलाई निर्देशन दिए ।


