एनएमबि बैंकले रच्यो इतिहास ː पायो बैंकअफ दि इयर एशिया २०२१ पुरस्कार, एशियाकै उत्कृष्ट बैंक बन्न सफल |
काठमाडौँ । एनएमबि बैंकले "दि बैंक अफ दि इयर एशिया २०२१" हात पारेको छ। बेलायतको लन्डनबाट प्रकाशित हुने प्रसिद्ध म्यागजिन दि बैंकरको निर्णायक मण्डलले उक्त पुरस्कार एनएमबि बैंकलाई दिने निर्णय गरेको हो।
यो पुरस्कार नेपाली बैंकिङ इतिहासमा नै पहिलोपटक एनएमबि बैंकले प्राप्त गरेको हो। यो सँगसँगै एनएमबिले "द बैंक अफ दि इयर २०२१" अवार्ड पनि जितेको छ। एनएमबि बैंकको यो पाँच वर्षमा चौथो अवार्ड हो।
सन् २००० मा स्थापित बैंक अफ दि इयर अवार्ड प्रत्येक वर्ष विभिन्न देशका उत्कृष्ट बैंकिङ सेवा दिने बैंकहरुले पाउँदै आएका छन्।
बैंकको वृद्धि र कार्य सम्पादनको शैली, बैंकको रणनीतिक पहलहरु, डिजिटल प्रविधिको उपयोग गर्दै ल्याइएका नविनतम् सेवा र उत्पादनहरु दीगो विकासका लागि गरिएका गतिविधि र प्रतिकुल परिस्थितीको सामना गर्ने क्षमता जस्ता विभिन्न मापदण्डहरुको आधारमा यो अवार्ड प्रदान गरिन्छ ।
उक्त पुरस्कार बैंकका अध्यक्ष पवन कुमार गोल्यमनले प्रधानमन्त्री शेयरबहादुर देउवाको हातबाट ग्रहण गरेका हुन्।
सन् २००० मा स्थापित बैंक अफ द इयर अवार्ड प्रत्यक देशको सर्वोत्कृष्ट बैंक तथा पश्चिमी युरोप, मध्य पूर्वी युरोप, एशिया, अमेरिका मध्य पूर्व र अफ्रिका गरी वटा महादेश भरिकै सर्वोत्कृष्ट बैंकहरुलाई छुट्टाछुट्टै प्रदान गरिन्छ। यो पुरस्कारलाई विश्वभरीका बैंकहरुको मूल्याँकन गर्ने र विश्वकै अग्रणी संस्थाको रुपमा मान्यता प्रदान गर्ने मानकको रुपमा लिइन्छ।
दिगो बैंकिङको लागि बैंकले गरेको पहल,डिजिटल रुपान्तरण र उच्च कर्पोरेट कार्यशैलीप्रति बैंकको प्रतिबद्धता जस्ता मानकहरुले एनएमविले यो अवार्ड जितेको हो।
एक शाखा र ३५ कर्मचारीबाट बैंकिङ्ग सेवा शुरु गरेको बैंकले १३ वर्षको यात्रामा ४ पटक ‘बैंक अफ द इयर’ हुँदै यसपटक नेपालको पहिलो एशियाको उत्कृष्ट बैंक बन्न सफल भएको हो।
यो उपलब्धि राष्ट्र बैंक, सम्पूर्ण बैंक तथा वित्तीय संस्था र मुलुकका लागि गौरवको विषय भएको बैंकका सिइओ सुनिल केसीले बताए । चीन, भारत, हङकङ, दक्षिण एसिया र जापान जस्ता एसियाकै कडा प्रतिस्पर्धीहरुलाई पछि पार्दै एनएमबि बैंक एसियाकै उत्कृष्ट बैंक घोषित भयो।
'एशियाका ४८ मुलुकलाई पछाडि पार्दै एनएमबि बैंक सर्वोत्कृष्ट बन्नु सबैको जित हो। बैंक मात्रै हैन नेपाल र नेपाल राष्ट्र बैकको जित हो,' सिइओ, केसीले भने, 'आफूभन्दा अघि आएका बैंकहरु भन्दा एनएमबिले दिगो विकासका लागि काम गरेको हुँदा उत्कृष्ट बन्न सफल भएको हो।'
बैंकले सुशासन र वित्तीय साक्षरतामा ध्यान दिँदै बोर्ड व्यवस्थापनप्रतिको विश्वासले यो सम्भव भएको उनी बताउँछन् । हामीले चमत्कार चाहेनौँ दीगो बैंकलाई मध्येनजर गर्दै काम गरिरहेका छौँ,उनले भने, विदेशीबाट सबैभन्दा बढी पैसा ल्याउने बैंकका रुपमा एनएमबि नै रहेको छ।
बैंकले ४५ भन्दा बढी हाइड्रो प्रोजेक्टमा लगानी गरेको छ। त्यस्तै सिमेन्टमा लगानी गरि मुलुकलाई सिमेन्टमा आत्मनिर्भर बैंकले बनाउन सहयोग गरेको छ।
सिंगापुरले नपाएको अवार्ड एनएमबिले पाएको बताउँदै उनले एनएमबिले वर्ल्डको टप बैंकसँग प्रतिस्पर्धा गरेको र दिगो बैंकिङको एजेन्डा लिएकै कारणले नेपालका अन्य बैंक भन्दा पृथक र अघि भएको समेत बताए।
त्यस्तै देशमा नयाँ उद्यमीहरु जन्माउनेदेखि विदेशबाट ठूलो रकम नेपाल भित्र्याउनका लागि एनएमबि बैंकले ठूलो पहल गरेको बैंकका अध्यक्ष पवन गोल्यानले बताए।
अवार्ड घोषणा कार्यक्रममा बोल्दै उनले भने, ‘आजभन्दा ४ वर्ष अगाडि विदेशमा भएको ‘बैंक अफ दि एसिया’ अवार्ड वितरण कार्यक्रममा सहभागी हुँदा मैले सिइओ सापलाई हामीले पनि अबको ३ वर्षभित्र यही अवार्ड पाउनु पर्छ भनेको थिएँ, एक वर्ष ढिलो भइयो, तर हामी यो अवार्ड पाउन सफल भयौं। या गौरवको विषय हो।’


