सुनको भाउ ९४ हजार माथि , सातामै सुन ३४०० रुपैयाँले बढ्यो |
काठमाडौं । सुनको भाउ ५ महिनापछि प्रतितोला ९४ हजार माथि पुगेको छ । कार्तिक २६ गते, शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेर छापावाल सुन प्रतितोला ९४ हजार ४०० रुपैयाँ तोकिएको छ । यसअघि जेष्ठ महिनामा सुन सोहि मूल्य बराबरमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज तेजाबी सुन प्रतितोला ९३ हजार ९०० रुपैयाँमा खरिदबिक्री हुँदैछ । सुनको मूल्य लागातार तेश्रो दिन वृद्धि भएको हो ।
यो साता सुन तोलामा तीन हजार ४०० रुपैयाँले बढेको छ । गत साताको अन्तिम कारोबार दिन सुन प्रतितोला ९१ हजार रुपैयाँमा किनबेच भएको थियो । त्यसयता सुनको भाउ मंगलबार बाहेक प्रतिदिन उकालो लागेको थियो ।
साताको अन्तिम कारोबार दिन चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । चाँदीको मूल्य पनि निरन्तर तेश्रो दिन बढ्दा प्रतितोला एक हजार २८५ रुपैयाँमा उक्लेको छ । यस दिन चाँदी तोलामा १५ रुपैयाँले बढेको हो ।
साताभरमा चाँदी तोलामा ६० रुपैयाँले उकालो लागेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक् हजार २२५ रुपैयाँमा कारोबार भएको थियो । त्यसपछि मंगलबार बढेको चाँदी लगातार दुई दिन स्थिर रहेर प्रतितोला एक हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो । यो साताको सबैभन्दा उच्च कारोबार मूल्य भने आजकै रहेको छ ।


