कुमारी बैंकका सेयरधनीले बोनस सेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने |
काठमाडौं । कुमारी बैंक लिमिटेडका सेयरधनीले बोनस शेयर ६ र नगद लाभांश २.६७ प्रतिशत पाउने भएका छन् । कम्पनीको साधारणसभाले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई यो परिमाणमा लाभांश दिने प्रस्ताव पारित गरेको हो ।
साधारण सभाले सेयरधनीहरुलाई आ.व.२०७७/०७८ को लागि ६% बोनस शेयर तथा बोनश सेयर वापत लाग्ने कर प्रयोजनाको लागि समेत २.६७% बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस शेयर जारीपश्चात् बैंकको चुक्तापुँजी १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार ३२६ रुपैयाँ पुग्नेछ ।
बैंकको २१ औं वार्षिक साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७७/०७८ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन पनि आवश्यक छलफलपश्चात पारित गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्म बैंकले कुल निक्षेप परिचालन १ खर्ब ५७ अर्ब १७ तथा कुल कर्जा रकम एक खर्ब ४३ अर्ब ७७ करोड रुपैयाँ प्रवाह गरेको जानकारी दिएको छ । संचालन मुनाफा तीन अर्ब १९ करोड तथा खुद मुनाफा एक अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको बैंकले जनाएको छ ।


