प्राइम कमर्शियलको नाफा घट्यो |
काठमाडौं । प्राइम कमर्शियल बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद ब्याज आम्दानीसँगै खुद नाफा पनि घटेको छ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले ९७ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.९० प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
खुद ब्याज आम्दानी घटेसँगै बैंकको खुद नाफा पनि घट्न पुगेको हो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६० प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २.६७ प्रतिशत घटेको छ। बैंकको नेट फि तथा कमिशन आम्दानी भने समीक्षा अवधिमा ३५.६४ प्रतिशत घटेको छ। असोज मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ४८ लाख रुपैयाँ रहेको छ।
चालु आर्थिक वर्षको तीन महिनामा बैंकको जगेडा कोष १३.०९ प्रतिशत बढेको छ। त्यसैगरी, बैंकको निक्षेप ३.३० प्रतिशत बढेको छ भने कर्जा ६.२१ प्रतिशत बढेको छ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी २९ रुपैयाँ ११ पैसाबाट ४ रुपैयाँ ७९ पैसा घटेर २४ रुपैयाँ ३२ पैसामा झरेको छ। असोज मसान्तसम्ममा, बैंकको मूल्य आम्दानी अनुपात १९.६९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५५ रुपैयाँ १४ पैसा रहेको छ।


