महासंघद्वारा निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोकिएकोमा विरोध |
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्जिवन बीमाको प्रिमियम वृद्धि गरी न्युनतम सिमा तोएिकोमा बीमा समितिको ध्यानाकर्षण गराएको छ ।
महासंघले बुधवार प्रेस विज्ञप्ति जारी गर्दै बीमा समितिले गत असोज ६ गते सबै निर्जिवन बीमा कम्पनीहरूको लागि जारी गरेको गैरशुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियद दरसम्बन्धी परिपत्रबाट निर्जिवन बीमाको प्रिमियम वृद्धि गरि न्युनतम सिमा तोकेकोप्रति नेपाल उद्योग वाणिज्य महासंघको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।
खुला बजार अर्थव्यवस्थामा नियामक निकायद्वारा प्रिमियम वृृद्धि सोही दरलाई नै न्युनतम सिमा तोकिंदा एकाएक आयोजनाको लागत बढ्न जाने पनि उसले बताएको छ ।
स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था, निर्माण व्यवसायी महासंघ लगायतका आयोजना निर्माणमा संलग्न संघ/ संस्था एवं उद्यमी व्यवसायीहरूका अनुसार बीमा समितिले जारी गरेको निर्देशनमा बीमाको प्रिमियम शुल्क भुक्तानी गरेपनि विमितले विमकबाट दावी भुक्तानी पाउन नसक्ने खालका विभिन्न शर्तहरूको राखिएको उल्लेख गर्दै उसले यस बिषयमा सबै सरोकारवालासँग अविलम्व छलफल गर्न पनि माग गरेको छ ।
बजारमा प्रतिष्पर्धा निरुत्साहित हुने गरि नियामक निकायद्वारा निर्जीवन बीमा कम्पनीहरुलाई गैर शुुल्क बीमा व्यवसायका लागि न्यूनतम प्रिमियम दर सम्बन्धमा जारी गरिएको निर्देशनमा पुनरावलोकन गर्न पनि महासंघले आग्रह गरेको छ ।
साथै उसले खुला बजार अर्थव्यवस्थामा प्रतिष्पर्धाद्वारा मूल्य निर्धारण हुने हुँदा न्युनतम शुल्क तोक्न नहुने बताएको छ ।
यसैगरी महासंघले अर्थतन्त्रको पुनरोत्थानका लागि लगानी प्रवर्द्धन र रोजगारी सृजना हुने व्यवसायिक वातावरण निर्माण गर्न पनि सम्बन्धित सरोकारवाला समक्ष आग्रह गरेको छ ।


