काठमाडौं महानगरपालिका १० हजार रुख रोप्दै | बिरुवा माग्न आउनुस्, हामी निःशुल्क उपलब्ध गराउँछौं, रोपेर हुर्काउने जिम्मेवारी तपाईहरुको : नगर प्रमुख शाक्य
काठमाडौं । काठमाडौं महानगरपालिकाले १० हजार बिरुवा रोप्ने भएको छ । महानगरपालिकाले चालू आर्थिक वर्षमा हरियाली प्रवद्र्धनका लागि थप १० हजार बिरुवा रोप्न लागेको हो । यसअघि महानगरपालिकाले विश्व वातावरण दिवसमा २ हजार ३ सय ७१ वटा बिरुवा रोपेको थियो ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने, ‘ उपत्यकालाई हरियाली र स्वच्छ बनाउनका लागि यसै वर्ष १० हजार नयाँ बिरुवा रोप्ने अभियान थालेका छौं ।’
विभिन्न विद्यालय, संघ संस्थाहरूको सहयोगमा वातावरण दिवसका अवसरमा पनि बिरुवा रोपिएको जानकारी दिँदै उनले सडकको किनारा, ट्राफिक आइल्याण्ड र बगैंचाहरूमा रूख रोपिसकेको पनि दाबी गरे ।
थप १० हजार बिरुवा भने विद्यालय, संघसंस्थाहरु र टोल सुधार समितिहरुको सहयोगमा रोपिने उनले जानकारी दिए । महानगरपालिकाले वृक्षरोपण गर्नेहरूका लागि निःशुल्क बिरुवा उपलब्ध गराइने घोषणासमेत गरे । ‘बिरुवा माग्न आउनुस्, हामी निःशुल्क उपलब्ध गराउँछौं, रोपेर हुर्काउने जिम्मेवारी तपाईहरुको भयो’, शाक्यले भने ।
आकाशे पानीलाई संकलन गरेर जमिनमुनि पठाउन महानगरपालिकाले स्कुल, पोखरी र बगैंचा लगायत ८ ठाउँमा रेन हार्भेष्टिङ तथा ग्राउण्ड वाटर रिचार्जका लागि अध्ययन पनि अघि बढाएको छ । त्यस्तै, ढल खोल्ने तथा सडक सरसफाइ गर्ने ५ वटा जेट मेशिन याएर प्रयोगमा आइसकेको छ भने ५ वटा ब्रुमर खरिदको प्रक्रिया पनि अघि बढाइसकेको छ । आगामी ३ महिनाभित्र ब्रुमरहरुले सडक सफाई अघि बढाउने उनको भनाइ छ ।
Visited 2 times, 1 visit(s) today


