रत्न आभूषण महासंघका अध्यक्ष रमेश महर्जनको निधन |
काठमाडौं । नेपाल सुनचाँदी रत्न एवं आभूषण महासंघ अध्यक्ष रमेश महर्जनको निधन भएको छ । ०२१ साल मंसिर ८ गते ललितपुरको पिलाछेंमा जन्मिएका स्व. महर्जनको ०७८ साल कात्तिक १ गते निधन भएको हो ।
संस्थापक अध्यक्ष महर्जनले महासंघको स्थापनाकालदेखि आभूषण क्षेत्रलाई राष्ट्रिय अर्थतन्त्रको प्रमुख आधारस्तम्भ बनाउने उद्देश्यसहित मुलुकभरका गहना व्यवसायी र सम्बन्धित क्षेत्रका संघलाई संगठित गरी मुलुककै पहिलो महासंघ स्थापनामा अग्रणी भूमिका खेल्नुका साथै नेतृत्व प्रदान गरेका थिए ।
स्व. महर्जनले स्थापना गरेको आरबी डायमण्ड ज्वेलर्स प्रालि २५ वर्षे अवधिमा मुलुककै परिचित ज्वेलर्स बन्न सफल भएको छ । नेपाली मौलिक बहुमूल्य गहनालाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराई निर्यात प्रवद्र्धन गर्ने कार्यमा समेत स्व. महर्जन निरन्तर सक्रिय थिए ।
स्व. महर्जन नेपाल जेम एन्ड ज्वेलरी काउन्सिलका अध्यक्ष, अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स, नेपाल चेम्बर अफ कमर्सका कार्यसमिति सदस्यका साथै नेपाल–श्रीलंका चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीका अध्यक्ष र नेपाल–कोरिया चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री, नेपाल–बर्मा चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्री एवं द्विराष्ट्रिय उद्योग वाणिज्य संघमा समेत सक्रिय थिए ।
स्व. महर्जनले सामाजिक सेवा क्षेत्रमा माया फाउन्डेसन स्थापना गरी विपन्न र पिछडिएका समुदायका लागि सीप तथा रोजगारीमूलक कार्यक्रम सञ्चालन गर्दै आएका थिए । ०७२ को भूकम्पबाट आवास गुमाएका विपन्न परिवारका लागि फाउन्डेसनद्वारा प्रवद्र्धित पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवद्र्धन परियोजनालाई राष्ट्रिय पुननिर्माण प्रधिकरणले गुरुयोजनाको रूपमा ग्रहण गरी मुलुकभर कार्यान्वयनमा ल्याएको थियो ।
स्व. महर्जनले न्हुदँ राष्ट्रिय समारोह समिति नेपाल संवत् ११४० र ११४१ का अध्यक्ष भई काम गरेका थिए । महासंघले स्वर्गीय महर्जनको शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेको छ ।


