लुम्बिनीका सात स्थानीय तहमा ६–२३ महिनाका १० हजार बालबालिकालाई बलियो नेपालको पोषण राहत |
काठमाडौं । बलियो नेपाल न्यूट्रिशन इनिसिएटिभले लुम्बिनी प्रदेशका सात स्थानीय तहमा कोभिड–१९ महामारीका कारण ६–२३ माहिनाका बालबालिकाहरुमा देखिएको खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम सञ्चालन गरेको छ । बलियो नेपालले सो कार्यक्रम प्युठानका गौमुखी र ऐरावती गाउँपालिका, पाल्पाको तानसेन नगरपालिका, गुल्मीको रेसुंगा नगरपालिका, नवरपरासीको पाल्हिनन्दन गाउँपालिका र सुनवल नगरपालिका र रुपन्देहीको देवदह नगरपालिकामा सञ्चालन गरेको हो ।
यसअन्तर्गत दुई महिनाको अवधिमा उच्च खाद्य जोखिम भएका १० हजार बालबालिकाहरुलाई पोषणयुक्त लिटो र माल्टोजिङ उपलब्ध गराइएको छ ।
खाद्य तथा पोषण असुरक्षासँग लड्न पोषण राहत कार्यक्रम २०७८ श्रावण २४ गतेदेखि सञ्चालन भएको हो । तराईका स्थानीय तहहरुमा पोषण वितरण कार्यक्रम गत महिना नै सम्पन्न भइसकेको छ । कोरोनाभाइरस महामारी र बाढीपहिरोका कारण पहाडी जिल्लाहरुका स्थानीय तहमा लिटो र माल्टोजिङ जनप्रतिनिधिलाई हस्तान्तरण गरी स्थानीय तहले बालबालिकाहरुका अभिभावकहरुलाई वितरण गरिएको बलियो नेपालका प्रमुख कार्यकारी अधिकृत डा. अतुल उपाध्यायले बताएका छन् ।
यसअन्तर्गत ६ देखि २३ महिनाका बालिबालिकाहरुलाई ४० दिनलाई पुग्ने दुई बट्टा माल्टोजिङ र २० दिनलाई पुग्ने २५ ग्रामका २० प्याकेट लिटो उपलब्ध गराइएको छ । यसले बालिबालिकाहरुलाई आवश्यक पर्ने दिनभरीको ३० प्रतिशत पोषणको आवश्यकता पूर्ति गर्ने डा. उपाध्यायको भनाइ छ । थप आवश्यक पोषण आमाको दूधका साथै घरमा उपलब्ध खानाहरु जस्तै अण्डा, माछामासु, तथा सागसब्जीहरुबाट प्राप्त हुनेछ ।
कार्यक्रममा उच्च खाद्य तथा पोषण असुरक्षा भएका स्थानीय तहहरुको छनौट गरी १० हजार बालबालिकालाई पोषणयुक्त खाना वितरण गरिएको हो । पोषण वितरण कार्यक्रम कोभिड–१९ का सुरक्षाका आवश्यक मापदण्ड पालना गर्दै स्थानीय जनप्रतिनिधि, बलियो नेपालका सदस्य, निजीक्षेत्रका साझेदार तथा स्वास्थ्य संयोजकहरुको उपस्थितिमा भएको थियो ।
कोरोनाभाइरसको महामारीका कारण उच्च खाद्य तथा पोषण असुरक्षा भएका बालबालिकाहरुलाई सहयोग गर्नका लागि सञ्चालन गरिएको यो कार्यक्रमले बालबालिकाहहरुमा देखिने शिघ्र कुपोषण रोकथाम गर्न मद्दत गर्ने लक्ष्य लिएको थियो । खासगरी महामारीका कारण आफ्नो आय गुमाएका परिवारहरुलाई यस कार्यक्रमले विशेषरुपमा सहयोग गरेको छ ।
पोषण वितरण कार्यक्रमका लागि बलियो नेपालले सम्बन्धित स्थानीय तहका सरकार, र निजीक्षेत्रका साझेदार नेपाल बंगलादेश बैंक लि, प्रुडेन्सियल इन्स्योरेन्स क. लि. र वसन्त चौधरी फाउण्डेशनसँग सहकार्य गरेको छ ।
बलियो नेपाल न्यूट्रिशन इनिसिएटिभले आगामी दिनहरुमा पनि स्थानीय सरकाहरुसँग सहकार्य गरेर खाद्य तथा पोषणका कार्यक्रमहरुलाई थप विस्तार गर्दै लैजाने डा. उपाध्यायले जानकारी दिए ।


