फोनपे तेस्रो वर्षमा : ५ लाख बढी मर्चेन्ट, दैनिक ३० करोड बढीको कारोबार |
काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड दोस्रो वर्ष पुरा गरि तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुई वर्ष अगाडी स्थापना भएको फोनपेमा हाल ५ लाख २५ हजार भन्दा बढि मर्चेन्ट पुगेका छन् ।
बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकका डेढ करोड बढी मोबाइल बैंकिङ्ग प्रयोगकर्ताले फोनपे मार्फत कारोबार गर्दै आएका छन् । दुई वर्षको अवधिमा फोनपे नेटवर्कमा ६० वटा बैंक तथा वित्तीय संस्था आवद्ध छन् । फोनपे विश्वविख्यात डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्रि डाटा सुरक्षा मापदण्ड’ पीसीआई डीएसएस भीथ्रीटु वान प्रमाणीकरण प्राप्त संस्था रहेको कम्पनीको दावी छ ।
कम्पनीले सेवा शुरू गर्ने वित्तीकै कोभिड १९ महामारीका कारण लामो समय लकडाउनमा बस्नु परेपनि विभिन्न बैंक तथा वित्तीय संस्थासँगको सहकार्यमा मर्चेन्टको संख्या बढाउन सफल भएको हो । हाल फोनपेको क्यूआर मार्फत दैनिक ५० हजार कारोबारबाट ३० करोड भन्दा माथिको कारोबार हुँदै आएको छ ।
यस्तै अन्तर बैंक रकम ट्रान्सफर, फोनपे डाइरेक्ट गरि दैनिक एक अर्ब रूपैयाँ बराबरको सेटलमेन्ट हुँदै आएको छ । फोन पे बैंकिङ्ग र मर्चेन्ट विस्तारको हिसाबले नेपालका सातवटै प्रदेशमा पुगिसकेको छ ।


